१३ माघ, काठमाडौं । सर्वोच्चको फैसलापछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएका छन् । उनले केहीबेर अघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर राजीनामा बुझाएका हुन् । नागरिकता विवाद कारम रहेकै बेला पुष ११ गते उनी उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए । उनी कानुनअनुसार नेपाली नागरिक नभएका कारण राजीनामा दिनुपरेको हो ।
प्रधानमन्त्रीलाई राजीनामा बुझाउनु अघि मन्त्रालयबाट बाहिरिदै लामिछानेले यतिखेर आफु परिचय नभएको अनागरिक भएको बताएका थिए । सांसद पद खारेज भएपछि गृह मन्त्रालयबाट बाहिरिँदै रवि लामिछानेले यतिबेर आफू परिचय नभएको अनागरिक भएको बताएका हुन् । उनले संचारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सर्वोच्च अदालतको फैसलालाई आफूले सम्मान गर्ने बताए ।
उनले अहिले आफू अनागरिक भएकोले कसलाई प्रश्न सोध्नु भएको भन्दै संचारकर्मीलाई प्रतिप्रश्न गरे । ‘अनागरिकलाई प्रश्न गर्नु भएको छ । थाहा छैन । एउटा अनागरिकले के गर्छ ?’ उनले भने, ‘अदालतको फैसलालाई स्वागत गर्छु । म अध्यक्ष छैन, केही पनि होइन । यतिखेर म परिचय नभएको अनागरिक भएको छु ।’
सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार लामिछानेको नेपाली नागरिकता प्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सांसद पद खारेज गरेको थियो । लामिछानेको सांसद बन्न अयोग्य रहेको र नेपाली नागरिकता लिने प्रक्रिया नै पुरा नगरेको भन्ने फैसला गरेपछि उनको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ ।