१९ चैत्र २०७९, आईतवार

ठेक्का लिएको सात वर्षसम्म पनि भेरी नदीमा पुल बनेन

प्रकाशित मिति :  २३ माघ २०७९, सोमबार १६:२२


२३ माघ, जाजरकोट । ठेक्का लिएको सात वर्षसम्म पुल निर्माण नहुँदा जाजरकोट नलगाड नगरपालिका–१० र रुकुम पश्चिम आठबीसकोट–५ स्यालाखदी जोडिन सकेको छैन ।

विसं २०७३ असार ३१ गते मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धारा काठमाडौँले भेरी नदीमा पुल निर्माण गर्ने भन्दै सडक डिभिजन चौरजहारीसँग सम्झौता गरेको थियो । पछिल्लो पटक थपिएको म्याद २०७७ पुष ३० गतेभित्र निर्माण हुनुपर्ने भए पनि हालसम्म सकिएको छैन ।

सडक डिभिजन चौरजहारीले २०७९ कात्तिक २९ गते ठेक्का किन नतोड्ने भन्दै अन्तिम पत्र पठाएको डिभिजन प्रमुख आशुतोष कर्णले बताउनुभयो । मौखिक तथा लिखित पटक–पटक ताकेता गर्दा पनि जेभीले सम्झौता अनुसारको काम नगर्दा आफूहरु हैरान भएर अन्तिम पटक पत्र लेखेको प्रमुख कर्णको भनाइ छ । तोकिएको समयमा स्पस्टिकरण पेस नभएमा सार्वजानिक खरिद ऐन २०६३ को दफा ५९ बमोजिम कारबाही गरिने पत्रमा उल्लेख छ ।

यस अवधिमा केही काम भए पनि मजदूरले ज्यालासमेत नपाएको नलगाड नगरपालिका –१० का सुरेन्द्र थापाले बताए । रुकुम पश्चिम आठबीसकोट नगरपालिका– ५ गोतामकोटका करवीर बस्नेतले काम गरेको रकम नपाएको गुनासो गरे ।

गोतामकोटकै गुमलाल विकको नेतृत्वमा काम गरेका मजदूरले १० लाख नपाएको बताएका छन् । स्थानीय मजदूर जयलाल भण्डारीको नेतृत्वमा काम गरेको मजदूरले रु ६ लाख रकम नपाएको बताए ।

मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धारा काठमाडौँको नामबाट आफूले काम गर्ने भन्दै छेडागाड नगरपालिकाका नगरप्रमुख रत्न खड्का बैंक ग्यारेन्टी समेत राखी काम सुरु गरेका थिए । तर सम्झौता मितिभन्दा बढी समय लगाएपछि पेश्की रकम कार्यालयले फिर्ता लिएपछि काम नगर्ने भन्दै प्रमुख खड्काले काम छोडेका थिए । कूल रू नौ करोडमा उक्त पुल निर्माण गर्ने सम्झौता भएको थियो ।


78
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा