२४ माघ, काठमाडौं । नेपाल आयल निगमले भारतबाट इन्धनको मूल्य बढेर आएको भन्दै नेपालमा पनि डिजेल, पेट्रोल र मट्टीतेल प्रति लिटर तीन रुपैयाँले मूल्य बढाएको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजे देखि लागूहुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
आयल निगमले जारी गरेको सुचना अनुसार अब देखी नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेल प्रतिलिटर १७५ रुपैयाँ पुुगेको छ । निगमका अनुसार खाना पकाउने एलपीजी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको राखिएको छ । जसअनुसार ग्यासको मूल्य प्रतिसिलिन्डर १८०० रुपैयाँ र हवाई इन्धनको मूल्य प्रतिलिटर १७० रुपैयाँ रहेको छ ।
इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले गत १ फेबु्रअरीमा पठाएको मूल्यअनुसार डिजेल पेट्रोलमा प्रतिलिटर आठ रुपैयाँ मूल्य बृद्धि भएर आएको थियो तर निगमले भने हाललाई तीन रुपैयाँ मात्रै बढाएको छ । आईओसीले मुल्य बृद्धी भएको सुची पठाएपछि निगमले सोहीअनुसार स्थानीय बजारमा मूल्यवृद्धि गर्नु परेको निगमको भनाइ छ ।
पेट्रोलियम पदार्थ खरिद गरे बापत आईओसीलाई १६ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गर्नुपरेको र साथै, उपभोक्तालाई सहज आपूर्ति गर्न मूल्य बढाउनुु परेको निगमको भनाइ छ । आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ । सोहीअनुसार निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्नेगर्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएको छ ।