२४ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी साधन चार्जिङ स्टेसनको नाममा लिँदै आएको अतिरिक्त शुल्कमा केही मात्रामा घटाएको छ ।
विद्युत नियमन आयोगसँग भएको सहमतिविपरीत प्राधिकरणले चार्जिङ शुल्क बढाएको र डिमाण्ड शुल्क समेत लिन नछाडेको भन्दै विद्युतीय सार्वजनिक बस संचालन गर्दै आइरहेको सुन्दर यातायातले सोमबारदेखि यातायात सेवा बन्द गरेको थियो ।
त्यसको भोलिपल्टै प्राधिकरणले चार्जिङ स्टेसनहरुमा बिल सच्याएर पठाएका छ । प्राधिकरणले सुन्दर यातायातलाई पत्राचार गर्दै लिनुपर्ने शुल्कभन्दा अन्यथा पर्न गएको भन्दै घटुवा बिल पठाएको हो ।
यसअघि सुन्दर यातायातलाई पठाएको बिलमा प्रति युनिट ८ रुपैयाँ ६० पैसा र प्रति केभिए २२० रुपैयाँको दरमा शुल्क तोकिएकोमा त्यसलाई सच्याउँदै प्रति युनिट ५ रुपैयाँ ७५ पैसा र प्रति केभिए २०० रुपैयाँको दरमा शुल्क लगाएर पठाएको प्राधिकरणले जनाएको छ ।
तर यातायातले उठाउँदै आइरहेको डिमान्ड शुल्क हटाउनुु पर्ने मागबारे भने प्राधिकरण मौन बसेको छ । विद्युत महसुल संकलन नियमावली–२०७८ अनुसार सरकारले चार्जिङ स्टेसनले डिमान्ड शुल्क तिर्ने वा ‘स्वाप’ सुविधा दिएर नतिर्ने दुवै विकल्प खुला राखेर महसुल तोकेको छ । डिमान्ड शुल्क तिर्नेलाई स्टेसनको प्रतियुनिट इनर्जी चार्ज सस्तो पर्ने र नतिर्नेलाई महँगो पर्छ ।
कुनैपनि उपभोक्ताको स्वीकृत लोड २५ केभिए वा सोभन्दा बढी भएमा डिमान्ड मिटर (थ्री फेज स्मार्ट अथवा टिओडी मिटर) लगाउनु पर्ने नियमावलीमा छ । स्वीकृत लोडभन्दा डिमान्ड मिटरले देखाएको डिमान्ड ५० प्रतिशतभन्दा कम भएमा स्वीकृत लोडको ५० प्रतिशतले हुने रकम उपभोक्ताले डिमान्ड शुल्क बापत बुझाउनु पर्ने नियमावली रहेको छ ।
अर्को विकल्प स्वाप कार्ड सुविधाअन्तर्गत भने उपभोक्तालाई डिमान्ड शुल्क नलाग्ने व्यवस्था छ । तर यसको लागि प्राधिकरणले छुट्टै महशुल दर कायम गरेको छ ।
स्वाप सुविधामा ३३ केभी प्रसारण लाइनअन्तर्गतको वैशाखदेखि मंसिरसम्मको बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म चार्ज गर्दा प्रति युनिट ६ रुपैयाँ ६० पैसा, साँझ ५ बजेदेखि राति ११ बजेसम्म प्रति युनिट ८ रुपैयाँ ४० पैसा र राति ११ बजेदेखि बिहान ५ बजेसम्म प्रति युनिट ४ रुपैयाँ ४५ पैसा लाग्ने व्यवस्था छ ।
स्वाप सुविधामा ३३ केभी प्रसारण लाइनअन्तर्गतको पुस महिनादेखि चैत्रसम्मको साँझ ५ बजेदेखि राति ११ बजेसम्म चार्ज गर्दा प्रति युनिट ८ रुपैयाँ ४० पैसा र राति ११ बजेदेखि भोलिपल्ट साँझ ५ बजेसम्म प्रति युनिट ६ रुपैयाँ ६० पैसा लाग्ने व्यवस्था छ ।
सुन्दर यातायातले भने स्वाप विकल्प अनुसार बढी मूल्य पनि नतिर्ने र डिमान्ड शुल्क नतिरी इनर्जी बिल अनुसार नै प्रति युनिट ५ रुपैयाँ ७५ पैसा दरमा मात्रै तिर्न माग राखेको छ ।प्राधिकरणको पत्रपछि यातायातले आफ्नो बसहरु संचालनमा ल्याएका छन् । सरकारले देशभित्र बिजुली प्रयोग बढाउने नीति लिएको छ ।