१६ चैत्र २०७९, बिहीबार

प्रिया, म नर्फकुञ्जेलसम्म कृपया, मेरो घर नछोडिदिनु !!

प्रकाशित मिति :  २१ फाल्गुन २०७९, आईतवार १३:५८


तिमी व्यर्थको चिन्ता किन गर्छौ प्रिया, म निँदाइन भनेर ?
म ननिदाउँदा तिमीलाई निन्द्रा नलाग्ने हैन क्यारे ??
मेरो अनिन्द्राले तिमीलाई पोल्ने, चिलाउने र बिझाउने पनि त हैन
मेरो समस्याले तिमीलाई न त कहिल्यै पोलेको छ, न त कहिल्यै पिरोलेको छ ।
केबल केही परिवर्तनका आशा र आकांक्षाले मेरा परेलीहरु एकआपसमा
जोडिन नसकी उघ्रिएको बेला किन तिमी मलाई व्यर्थैमा
तँ सुतिनस् भनेर गाली गछ्र्यौ ??

हरेक दिन बाटामा भेटिएका हजारौं सपनाहरुलाई एकमुष्ठ पोको पारेर
घरको दलान र बार्दलीमा पुगेर फुकाउन खोज्दा केवल निराशाका चोइटाहरु
फुत्त बाहिर निस्कनु मेरो रहर होइन मेरो नियति र बाध्यता हो प्रिया ।
भोलीको उज्यालोले बिहानीका अनगिन्ती आशाका सपनाहरु बोकेर
निँदाउन खोज्दा अनायासै वर्तमानका आवश्यकताले चिर्थोर्न खोजेपछि
अभावै अभावका माखेसाङ्गलाले मेरो जीर्ण शरीरलाई बेरेपछि
त्यति सजिलै निदाउन कहाँ सकिदो रहेछ र प्रिया ।।

जब कोही कसैलाई आफ्नो भन्दा पराया प्यारो लाग्ने अवस्थामा पुग्छ
जब कोही पारायाको लालीपपमा आनन्द मान्दै मुख मिठ्याउन पुग्छ
तब संझनुस उसमा घर र परिवारको माया र प्रेम समाप्त भयो भनेर ।
जब, लगातारको अभावरुपी घनको ठोकाईबाट मानिस थङ्गथिलो हुन्छ,
तब भौतिक शरीर ईटाका पर्खाल रुपी घरको एउटै कोठामा भएर पनि
मन अन्यत्रै पाहुना खान गएको हुनसक्छ, बसाई सरिसकेको हुनसक्छ,

अभाव, र विवशताको खास्टो ओढेर, केबल तिम्रा लागि खुशी खोज्न यताउता
भौतारिएको पनि पत्तै नपाइकन बर्षौ भैसके छ ।
खै के भनौं र प्रिया, तिम्रै मुहारमा हाँसो ल्याउन, मेरा हजारौं खुशीहरुलाई
अग्नीकुण्डमा हवन गरेको पनि धेरै लामो समय व्यतित भैसके छ । ।
कति हिउँदमा कठांग्रिएका शीत लहरमा रुमलिदै, अनि कति बर्खा र गर्मीको
राप र ताप सहँदै तिम्रो सपनाको घर सजाउन मेरा सपनाहरुलाई सहर्ष, समर्पित,
निस्वार्थ रुपमा तिलाञ्जली दिएको पनि कहाँ कम दिन भएको छ र ?

तर के गछ्र्यौ प्रिया ? मेरो त्याग, बलिदान र समर्पणबाट तिम्रो मुहारमा कहिल्यै
खुशी फर्किएन, हाँसो चम्किएन, उज्यालो फक्रिएन, मुस्कान टल्किएन ।
फर्कियो त केबल अभाव, दुःख, बेदना, घृणा, आँसु, अविश्वास र अन्तर्घातका
भग्नावशेषहरुको लावालस्कर मात्रै त फर्कियो ।
विश्वास रोपेर समर्पणले सिञ्चित गरेको मेरो भरोसाको कल्पबृक्षमा
केबल रिट्ठो, भलायो, चिलाउने र बकाइनोको बिषदीयुक्त फल निस्कियो ।

खै के भन्छ्र्यौ र तिमी प्रिया ? म तिमी जस्तो महत्वकांक्षी बन्न सकिन
बास्तविकतालाई कात्रो ओढाएर अवास्तविक नाटकीय जीवन ज्यून सकिन
सधैं दुःखको सागरमा मात्रै डुबुल्की मार्नु पर्दाको बाध्यता वा परिस्थितिले होला
खै किन हो ? खुशी बेच्न राखिएका बजारमा किनमेल गर्न जाने मौकै मिलेन
एक मुट्ठी खुशी किनेर ल्याउने चाहनामा समेत तुषारापात पर्न थालेपछि
मेरा बृद्ध शरीर पनि अब त शिथिल भैसकेको छ, मांसपेशीहरु गलिसकेका छन्,

अझै केही समय धैर्य गर है प्रिया,
म अभाव मेटाउने औषधि खोज्न गएको छु
समृद्ध र समुन्नत घर बनाउने ज्यामी खोज्न गएको छु ।
परायालाई आफन्त मान्नु पर्ने बाध्यतालाई मेटाउने
समुन्नत र सम्पन्नताको शिखरमा चढेर एकपटक
हामी दुबैजना मन्द मुस्कानमा आनन्दित भएर कावा खाँदै
रमाउने सपना बोकेर म घरबाट बाहिर निस्किएको छु ।
मेरो एउटै बिन्ति छ, प्रिया, म नर्फकुञ्जेलसम्म कृपया,
मेरो घर नछोडिदिनु ।


1.79k
Shares
roadshow real state
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिललो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा