२८ फागुन, काठमाडौं । बैंक र लघुवित्त वित्तीय संस्थाको चर्को ब्याजदरको विरोध गर्ने क्रम रोकिएको छैन । लामो समयदेखि उद्योगी व्यवसायीहरु बैंकहरुले लिने गरेको चर्को ब्याजका कारण पेशाबाट पलायन मात्र नभई घरबार नै गुमाउनु परेको भन्दै ब्याज दर घटाउन र सहुलियत दरमा ऋण प्रवाह गर्न काम गर्दै देशभर सडक आन्दोलन, धर्ना गर्दै आइरहेका छन् ।
यसैबीच देशभरका व्यावसायिक छाता संगठनहरु संयुक्त रुपमा आन्दोलनमा होमिएका छन् । देशभरका ९ वटा महासंघ र ५९ वटा वस्तुगत र जिल्लानगर संघ संयुक्तरुपमा आजदेखि आन्दोलनमा उत्रिएका छन् ।
उनीहरुले आइतबार उद्योगी व्यवसायीहरूले माइतीघरमा प्रदर्शन गरे । चर्को ब्याजदरले बाँच्नै गाह्रो भएको सन्देशसहित प्लेकार्ड, ब्यानर बोकेर सरकार र राष्ट्र बैंकविरुद्ध नाराबाजी गरे ।
बैंक तथा वित्तीय संस्था संघर्ष समितिका संयोजक नरेश कुटवालले हाल देशभरका ९ वटा व्यावसायिक महासंघ र ५९ वटा संघ आन्दोलनमा उत्रिएको जानकारी दिए । आन्दोलनमा ऐक्यवद्धता बढ्दै गइरहेको र माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनल] बताए ।
कोभिड १९ को मारबाट तंग्रिन नसरिहेको उद्योग, व्यवसायमाथि थप मार पुग्ने गरी ब्याजदर बढाउने बैंकहरुले समाजमा बै.किङ आतंक नै मच्चाएको आन्दोलनकारीहरुको भनाइ छ । उनीहरुले बैंक तथा वित्तीय समस्या समाधानका लागि आन्दोलनको बाटो रोज्न बाध्य भएको बताए ।
शान्तिपूर्ण प्रदर्शनमा उनीहरुले ‘बैंकिङ आतङ्क बन्द गर’, ‘बैंक हामीलाई प्यारो छ, ब्याज वृद्धिले गाह्रो भो’, ‘चालू पुँजी कर्जा मार्गदर्शन स्थगन गर’, प्रिमियम दर वृद्धि नियन्त्रण गर’ लगायतका प्लेकार्ड बोकेका थिए । यस्तै, ‘मौद्रिक नीति परिमार्जन गर’जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् । प्रदर्शनमा दर्जनाैंको संख्यामा सहभागी थिए ।