३० फागुन, सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदानको अधिकार पाउनुपर्ने भन्दै मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुले उच्च अदालत सुर्खेतमा रिट निवेदन दायर गरेका छन् ।
‘स्कूल अफ म्यानेजमेन्ट’ (माेसुम)मा अध्ययनरत ३ जना विद्यार्थीले मंगलबार विश्वविद्यालयलगायत पाँच वटा कार्यालयलाई विपक्षी बनाएर उच्च अदालत सुर्खेतमा रिट दायर गरेका हुन् ।
रिटमा चुनावमा मतदान गर्ने अवस्थाबाट वञ्चित गराइएको उल्लेख छ । रिट निवेदक भुवन बुढा, सुदीप महतारा र खेमु शाहीले मध्यपश्चिम विश्वविद्यालय, स्कूल अफ म्यानेजमेन्ट, स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समिति र केन्द्रीय विभागको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन अधिकृतको कार्यालयलाई विपक्षी बनाएका छन् ।
आउँदो चैत ५ मा हुन गइरहेको स्ववियू निर्वाचनमा मोसुममा करिब ४०० विद्यार्थीहरूको नाम मतदाता नामावलीमा समावेश नगरेपछि उनीहरुले मतदान गर्न नपाउने भएका छन् ।
उनीहरुले स्वतन्त्र विद्यार्थी युनियन कुनैपनि राजनीतिक संगठन नभएकाले आफूहरुले मत दिन पाउनुपर्ने बताएका छन् ।