१ चैत, काठमाडाैं। नियुक्ति पाएको विद्यालयमा प्रशासनले दृष्टिविहीन भएकै कारण एक महिला शिक्षकलाई हाजिरी गर्नबाट वञ्चित गराउने हर्कतमा अपनाइरहेकाे विद्यालय अन्तत: हाजिरी गराउन बाध्य भएकाे छ । रामेछापको खाँडादेवी गाउँपालिकास्थित मानेडाँडा माध्यमिक विद्यालय ती शिक्षिकालाई हाजिरी गराउन बाध्य भएको हाे ।
शिक्षक सेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भएर निम्नमाध्यमिक तहको नेपाली शिक्षकको नियुक्ति पाएकी चितवनको भरतपुर–२७ मेघौलीकी संगीता पराजुलीलाई उक्त विद्यालयले दृष्टिविहीन भएकै कारण फागुन ११ गतेदेखि नै हाजिरी गर्नबाट रोक लगाउँदै आएको थियो ।
शिक्षक सेवा आयोगले प्रकाशन गरेकाे रोल नम्बरअनुसार दुर्गम जिल्ला मानिने रामेछापमा परेकी पराजुलीलाई त्यहाँको शिक्षा विकास तथा समन्वय इकाइले शिक्षक नियुक्त गरेर पदस्थापनका लागि खाँडादेवी गाउँपालिका पठाइएकोमा उनलाई गाउँपालिकाले माघ २३ गते वडा नम्बर ९ को मानेडाँडा माध्यमिक विद्यालयको नेपाली शिक्षकमा पदस्थापनको पत्र दिएको थियो । तर विद्यालयले दृष्टिविहीन भन्दै अस्वीकार गरेर विभेद गरेको थियो ।
घटनाबारे संचारमाध्यम र सामाजिक संजालमा विद्यालय नेतृत्व र प्रशासनको व्यापक विरोध भइरहेको अवस्थाबीच शिक्षिका यही सोामबारबाट पराजुलीलाई हाजिरी गराइएको हो । पराजुलीलाई हाजिरी गराएको गाउँपालिकाको शिक्षाका प्रमुख मीनबहादुर थापाले जानकारी दिएका छन् ।
दृष्टिविहीन शिक्षकलाई विद्यालयले हाजिरी नगराएको समाचार सार्वजनिक भएपछि राष्ट्रिय मानव अधिकार आयोगले विद्यालय, गाउँपालिका र शिक्षा विकास तथा समन्वय ईकाईलाई पत्र पठाएर कारणसहित स्पष्टिकरण दिन भनेको थियो ।
करिब डेढ दशक राहत दरबन्दीमा रहेर अध्यापन गरेकी ३६ वर्षीया पराजुली गएको पुसमा शिक्षक सेवा आयोगको निम्न माध्यामिक तहको नेपाली विषयको परीक्षामा नाम निकालेकी थिइन् । उनले भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेकी छन् ।
उनका कक्षा १० र ५ मा अध्यनरत २ छोरा छन् । श्रीमान गणेश पनि शिक्षण पेशामा छन् ।