१७ चैत्र २०७९, शुक्रबार

हेटौँडा सामुदायिक आँखा अस्पतालद्वारा ९७ हजारभन्दा बढीलाई सेवा प्रदान

प्रकाशित मिति :  २ चैत्र २०७९, बिहीबार १६:५५


२ चैत, मकवानपुर । हेटौँडा सामुदायिक आँखा अस्पतालले एक वर्षको अवधिमा पाँच हजार दुई सय ६४ जनाको आँखाको शल्यक्रिया गरेको छ ।

अस्पतालले सन् २०२२ मा मात्रै तीन हजार सात सय ७८ वटा ठूला र एक हजार चार सय ८६ वटा साधारण शल्यक्रिया गरेको अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिए । सो अवधिमा अस्पतालले ९७ हजार चार सय नौ सेवाग्राहीलाई उपचार गरेको उनले बताए ।

अस्पतालले एक वर्षको अवधिमा मकवानपुर, बारा, सिन्धुली, रौतहट, सर्लाहीलगायत जिल्लाका ग्रामीण क्षेत्रमा ५९ स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गरेकामा १२ हजार तीन सय ३६ जनाले उपचार गराएका व्यवस्थापक श्रेष्ठले बताए ।

ग्रामीण भेगमा पुगेर गरिएको निःशुल्क जाँचपश्चात् शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीहरुलाई अस्पतालले निःशुल्क सेवा उपलब्ध गराएको थियो । एक हजार ७३६ सेवाग्राहीले साना तथा ठूला शल्यक्रिया निःशुल्क प्राप्त गरेका थिए ।

गैरनाफामूलक संस्थाका रुपमा सञ्चालित सो अस्पतालमा दैनिक तीन सय जनाको हाराहारीमा आँखा जाचाउन आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालले आँखा जाँच तथा बिरामीको अवस्था हेरेर शल्यक्रिया गर्दै आएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम लागू भएसँगै बिरामीको चाप बढ्न थालेको र अस्पतालमा आउने बिरामीमध्ये ५० प्रतिशतले स्वास्थ्य बीमामार्फत सेवा लिइरहेको जनाइएको छ ।


91
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा