१७ चैत्र २०७९, शुक्रबार

मेला महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै अर्थतन्त्र चलायमान हुन्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

प्रकाशित मिति :  ३ चैत्र २०७९, शुक्रबार १७:४३


३ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय वस्तु तथा सेवाको उत्पादन तथा बजारीकरणमा मेला महोत्सवको महत्वपूर्ण भूमिका रहने बताउँदै मेला महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउने समेत बताएका छन ।

महोत्तरीको बर्दिबासमा आयोजित चौथो बर्दिबास महोत्सवलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, “मेला महोत्सवको मुख्य उद्देश्य नै स्थानीय वस्तु तथा सेवाको उत्पादन, वितरण र बजारीकरण गर्ने हो । यसले स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । स्थानीय उत्पादनहरुलाई उपभोक्ताहरुसम्म पुर्‍याउँछ । मेला महोत्सवको आयोजनाले स्थानीय अर्थतन्त्रलाई चलायमान समेत गराउँछ । ”

अहिलेको असहज परिस्थितिमा मेला महोत्सवको आयोजनाको विशेष महत्व रहेको बताउँदै ढकालले मेला महोत्सवको आयोजनामा महासंघको साथ र सहयोग रहने प्रतिवद्धतासमेत व्यक्त गरे । उनले कोरोना भाइरस महामारीपछि मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरु विस्तारै सहज हुँदै गएको समेत बताए ।

“कोरोना भाइरसपछि मुलुकको अर्थतन्त्रमा केही समस्याहरु देखिएका थिए । बैंकिङ क्षेत्रमा लगानी योग्य तरलताको अभाव रहन गयो । रेमिट्यान्सको आप्रवाहमा कमी आयो भने नेपाल आउने पर्यटकको संख्या कम हुँदा विदेशी मुद्रा संचितिमा पनि कमी हुन गयो । तर अहिले रेमिट्यान्स उत्साहजनकरुपमा बढेको छ ।

पर्यटनमा पनि सुधार देखिएको छ भने बैंकिङ्ग क्षेत्रमा तरलताको पनि क्रमश सहजता देखिन थालेको छ । यसले गर्दा अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखिएका छन् । मलाई विश्वास छ यसमा थप सुधार हुँदै जान्छ,” उनले भने । व्यवसायीहरुमा धेरै नै नैराश्यता देखिएको बताउँदै उहाँले व्यवसायीहरुलाई निरास नहुन समेत आग्रह गरे ।

“व्यवसायीहरु भनेको जस्तो सुकै असहज परिस्थितिमा पनि सहज र सकारात्मक हुने वर्ग हो । त्यसैले अहिलेको असहज परिस्थितिमा पनि हामीहरु संयमित भएर व्यवसाय गर्नुको विकल्प छैन । संयमित भएरै यसबाट पार पाउने हो,” उनले भने । उनले महासंघको आगामि चैत्र २८ र २९ गते हुने ५७औँ अधिवेशनबाट आउने नयाँ नेतृत्वले व्यवसायीहरुका समस्याको समाधान गर्न पहल गर्ने बताए ।


169
Shares
roadshow real state
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा