नेपाली प्रिन्ट कला प्रदर्शनी सुरु


Share This

नेपालबहस संवाददाता    

२९ जेठ, काठमाडौं । नेपालमा प्रिन्ट कलाको महत्व बढ्दै गएको भेटिएको छ । यसै सन्दर्भमा काठमाडौँ विश्वविद्यालय सेन्टर फर आर्ट एन्ड डिजाइनमा अध्ययनरत करिब २५ विद्यार्थीले तयार पारेको प्रिन्टको प्रदर्शनी पार्क ग्यालरी पुल्चोक, ललितपुरमा भइरहेको छ ।

अग्रज कलाकारद्वय उमाशङ्कर साह र डा. सीमा शर्माले संयुक्त रुपमा उद्घाटन गरेको सो प्रदर्शनीमा उडकटमा तयार पारिएका कलाकृति राखिएका छन् । नेपाली कलामा प्रिन्ट कलाको महत्व बढ्दै गइरहेको बताउँदै साहले भने, “प्रिन्टमेकिङको क्रेज बढ्नु नेपाली कला क्षेत्रका लागि सुखद् सङ्केत हो । हामी सबैको प्रयासले नेपालमा यस विधाप्रति युवा पुस्ताको रुचि बढ्दै गइरहेको छ । काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले पनि निकै राम्रो प्रिन्ट बनाएको पाएँ । यो नेपाली कलाका लागि राम्रो सङ्केत हो ।”

डा. शर्माले नेपालमा प्रिन्टमेकिङ व्यवस्थित रुपमा अगाडि बढ्न थालेको बताए । युवा कलाकार तथा सो विश्वविद्यालयका लेक्चरर कविराज लामा सही ढङ्गले प्रिन्ट विषयलाई अध्यापन गराउन सकिए यसमा नयाँ पुस्ताका कलाकारको रुचि अझै बढ्ने बताए । लामाले भने, “प्रिन्ट कलालाई विश्वविद्यालयमा व्यवस्थित रुपमा अध्यापन गराउन सकिए यसले सकारात्मक परिणाम ल्याउन सक्ने विश्वास हामीले लिएका छौँ ।”

प्रिन्टमा फरक किसिमका विषयमा काम गर्दा रमाइलो र बेग्लै अनुभव लिन सकेको प्रदर्शनीमा सहभागी जगदीश मोक्तानले बताए । प्रदर्शनीले नयाँ पुस्ताका कलाकारमा प्रोत्साहनको काम गरेको अर्का सहभागी रुपेशमान सिंहले उल्लख गरे । काठमाडौँको धुलो र धुवाँलाई निकै कलात्मक रुपमा चित्रण गर्दै वातावरण विनाशले मानवीय जीवनलाई सङ्कटतिर धकेलिरहेको कलाकार टासी लामाले उल्लेख गरे ।

प्रदर्शनीमा मनन्तुना ज्यापू, एलेन तुलाधर, अमिर महत, अमोघ पराजुली, एन्जिला मानन्धर, दिवस महर्जन, हिरोतो श्रेष्ठ, हितेश वैद्य, जोनसन लिम्बू, काजल आङ्देम्बे, केमेश महर्जन, मनिका मानन्धर, निकेश योञ्जन, पूजा दुवाल, रिया ढुङ्गेल, सविना प्रजापति, शुभ जोशी, सुदीमराज वज्राचार्य, सुमन राई, यशस्वी श्रेष्ठलगायत सहभागी रहेको ललितकला पत्रकार समाजका महासचिव देवेन्द्र थुम्केलीले जानकारी दिए । प्रदर्शनी आगामी शुक्रबारसम्म रहने भएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार