मध्य भोटेकोशी जलविद्युतले आईपीओका लागि दियो आवेदन


Share This


नेपालबहस संवाददाता    

काठमाडौं। मध्य भोटेकोशी जलविद्युत कम्पनीले प्रथमिक शेयर निष्कासनका लागि नेपाल धितोपत्र वोर्डमा निवेदन दिएको छ।

पहिलो चरणमा कम्पनीले एक अर्ब ४४ करोड रुपैयाँ बराबरको एक करोड ४४ लाख कित्ता शेयर निष्कासनको लागि कम्पनीले वोर्डमा निवेदन दिएको हो।

कम्पनीका अनुसार पहिलो चरणमा कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, ऋण प्रदायक कम्पनीका कर्मचारी र संस्थापक शेयर होल्ड गर्ने कम्पनीका कर्मचारीका लागि शेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो।

पहिलो चरणमा कर्मचारी संचय कोषका संचयकर्ताहरुका लागि कुल जारी पूँजीको १९।५ प्रतिशतले हुन आउने एक अर्व सत्र करोड रुपैयाँ बराबरको एक करोड सत्र लाख कित्ता शेयर, संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि कुल जारी पूँजीको ३ दशमलव ५ प्रतिशतले हुन आउने २१ करोड रुपैयाँ बराबरको २१ लाख शेयर र ऋणदाता संस्थाका कर्मचारीका लागि कुल जारी पूँजीको १ प्रतिशतले हुन आउने ६ करोड बराबरको छ लाख कित्ता शेयर जारी हुने कम्पनीले जनाएको छ।

यसैगरी दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानिय बासिन्दाका लागि शेयर जारी हुनेछ। कम्पनीका अनुसार जारी पूँजीको १० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता कित्ता शेयर जारी हुनेछ।

तेस्रो चरणमा सर्वसाधारण तथा कम्पनीका कर्मचारीहरूका लागि कूल जारी पूँजीको १५ प्रतिशतले हुन आउने ९० करोड रकम बराबरको ९० लाख कित्ता शेयरहरु निष्कासन हुने कम्पनीले जनाएको छ।

यसअघि नै शेयर निष्कासनकालागि कम्पनीले पाँच बिक्री प्रवन्धक नियुक्त गरेको छ।शेयर जारी गर्न प्रभु क्यापिटल,सिभिल क्यापिटल,एस क्यापिटल,सिबिआर्इएल क्यापिटल,सानिमा क्यापिटल र लक्ष्मी क्यापिटललार्इ संयुक्त रुपमा बिक्री प्रवन्धक नियुक्त गरिएको हो।

मध्य भोटेकोशी जलविद्युत आयोजना सिन्धुपाल्चोकको चाकुमा निर्माणाधिन छ। यो चिलिमे जलविद्युत कम्पनीको अगुवाईमा निर्माण भइरहेको आयोजना हो। १ सय २ मेगावाटको यो आयोजना बन्न १२ अर्ब २८ करोड लाग्ने अनुमान गरिएको छ। यो सिन्धुपाल्चोकमा बन्न लागेको सबैभन्दा ठूलो आयोजना हो।

आयोजनाबाट वार्षिक ५४ करोड २० लाख यूनिट विद्युत उत्पादन हुने प्रक्षेपण छ। आयोजनाले विद्युत बिक्रीबाट वार्षिक दुई अर्ब ९० करोड ४३ लाख रुपैयाँ आम्दानी गर्ने अनुमान गरिएको छ।

सन् २०१७ जुनमा निर्माण सक्ने लक्ष्य लिएको भएपनि तोकिएको समयमा आयोजना सम्मपन्न नभएपछि पछिल्लोपटक सन् २०१९ को जुनमा सक्ने लक्ष्य राखिएको छ।

तपाईको प्रतिक्रिया