देउवालाई शेयर बजारको हरियो झन्डा, बजार ३५ अंकले बढ्यो


Share This

नेपालबहस संवाददाता    

२३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चौथो कार्यकालका लागि प्रधानमन्त्री चुनिने दिन शेयर बजारमा पनि उत्साह देखिएको छ ।

मंगलबार बिहान बजार खुलेदेखि उकालो लागेको शेयर बजार अपरान्ह ३ बजे बन्द हुनुअघिसम्म ३४.७२ अंकले उकालो लाग्दै १६३७.३७ बिन्दुमा पुग्दै बन्द भएको हो ।

माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले शेरबहादुरलाई सत्ता हस्तान्तरण गर्न लागेको दिन कारोबार रकममा पनि सुधार देखिएको छ ।

आज दिनभरीमा एक सय ४८ वटा कम्पनीको ९१ करोड १६ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आजको शेयर कारोबारमा उत्पादनमुलक समूहको मात्रै मूल्य ओरालो लागेको छ ।

उत्पादनमूलक समूहको सूचक १४ अंकले ओरालो झरे पनि बीमा समूहको सूचक १७२.५७ सात अंकले बढ्न पुगेपछि शेयर बजारमा हरियाली छाएको हो ।

बीमा समूहसँगै आजको कारोबारमा बैंकिङ समूह, होटल समूह र जलविद्युत् समूहको शेयर मूल्य पनि बढ्न पुगेपछि बजारमा उत्साह देखिएको हो ।

आजको कारोबारमा वाणिज्य बैंक समूहको सूचक ३८.८२ अंकले उकालो लागेको छ । त्यसैगरी विकास बैंकको सूचक ३५.३८ अंकले उकालो लागेको अवस्थामा होटल समूहको ६२.४५ अंकले उक्लिएको छ ।

त्यसैगरि जलविद्युत् समूहको सूचक ३५.६८ अंकले उकालो लाग्यो भने फाइनान्सको ७.३१ र अन्य समूहको सूचक १५.६२ अंकले बढेपछि बजारमा हरियाली देखिएको हो ।

आजको दिन सिभिल बैंकको शेयर सबैभन्दा धेरै खरिदविक्री भयो । नेपाल स्टक एक्सचेन्जका अनुसार सिभिल बैंकको ७ करोड २५ लाख ७६ हजार १ सय ६३ रुपैयाँको शेयर किनबेच भएको छ ।

दोस्रो नम्बरमा स्टान्डर्ड चार्टर्ड बैंक रह्यो । उसको ६ करोड ८२ लाख ८० हजार रुपैयाँको शेयर किनबेच भएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार