fbpx

सर्वोत्कृष्ट भलिबल टिमलाई जनता बैंकको पुरस्कार प्रायोजन


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । भलिबल खेलप्रति युवा वर्गको रुचीलाई प्रोत्साहन गर्ने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले सर्वोत्कृष्ट टिम एवं खेलाडीलाई आगामी पाँच बर्षसम्म प्रायोजन गर्ने भएको छ । बार्षिक २/२ लाख राशीको सो पुरस्कार प्रायोजनसम्बन्धि सम्झौतामा आज बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले हस्ताक्षर गरेका छन् ।

संझौता अनुसार नेपाल भलिबल संघले एन.भि.ए. अवार्ड सेरेमोनीमा प्रदान गर्ने बर्षको सर्वोत्कृष्ट टिम महिला तथा पुरुषको लागि नगद पुरस्कार रु. २ लाख (प्रति टिम रु. एक लाख) जनता बैंकले प्रायोजन गर्ने छ । साथै उक्त प्रायोजन आगामी ५ बर्षसम्म उपलब्ध गराइनेछ ।

नेपाल भलिबल संघले भलिबल खेलको विकास र विस्तारको लागि निरन्तर रुपमा खटी काम गर्ने संघसंस्था, व्यक्तित्वहरुलगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्ने टिम र खेलाडीहरुको मनोबल बढाउने उद्देश्यले २०७४ साल देखि एन.भि.ए. अवार्ड प्रदान गर्दै आइरहेको छ । दोस्रो एन.भि.ए. अवार्ड कार्यक्रम यही २०७५ माघ ११ गते आयोजना गरिएको छ ।

कर्पोरेट क्षेत्रको प्रत्यक्ष सहभागिताले खेलाडीको मनोबल बढाई समग्र खेल क्षेत्रकै विकासमा महत्वपूर्ण योगदान पुग्नसक्ने कुरालाई दृष्टिगत गरी जनता बैंकले पनि खेलाडीहरुलाई प्रदान गरिने विभिन्न पुरस्कारहरुमा प्रायोजन गर्दै आइरहेको छ ।

गत पौष १३ गते नेपाल राष्ट्रिय /अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा बर्षको सर्वोत्कृष्ट खेलाडी पुरुष एक र महिला एक गरी रु. २ लाखको पुरस्कार पनि जनता बैंकको प्रायोजनमा प्रदान गरिएको थियो । उक्त पुरस्कार पनि आगामी ५ बर्षको लागि प्रदान गरिने गरी संझौता यस अघि नै सम्पन्न भैसकेको छ । खेलप्रतिको यस सहयोगले खेलाडीहरुमा हौसला प्रदान भई खेल क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास लिएको जनता बैंकले एक विज्ञप्तीमार्फत जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार