fbpx

मेगा बैंक नवौँ वर्षमा प्रवेश


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । हलोदेखि हाइड्रोसम्म नाराका साथ नौ वर्षअघि स्थापना भएको मेगा बैंकले साना मझौला व्यवसाय ‘एसएमई’ र लघुवित्तलाई प्राथमिकतामा राख्दै आएको छ ।

गत आर्थिक वर्षमा निक्षेप संकलन रु ११ अर्ब ८२ करोड बढेर रु ६३ अर्ब पुगेको छ । यसैगरी कर्जा प्रवाह पनि करिब रु ११ अर्ब बढेर रु ५७ अर्ब २६ करोड पुगेको छ । ग्राहक संख्या पाँच लाख रहेको छ ।

त्यसैगरी कर्जाको औसत आकार रु २९ लाख ५५ हजार र निक्षेप रु एक लाख २२ हजार रहेको छ । स्थापनाको नवौं वर्षमा आइपुग्दा बैंकले १०१ शाखा विस्तार गरेको छ ।

देशभर १४ वटा एक्टेनशन काउन्टर, १ सय १९ वटा शाखारहित बैंकिङ सेवा, दुई हजारभन्दा बढी मेगा रेमिट सञ्जाल र ७४ वटा एटिएम छन् । नवौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले संघीय संरचना अनुसार हरेक प्रदेशमा ‘प्रदेश हेडक्वाटर’ स्थापना गरी मेगा बैंकको सञ्जाललाई व्यापक बनाइने बताए ।

‘हामी छोटो समयमा नै मुलुकको ठूलो बैंक बन्न सफल भएका छौँं, अब संघीयताको कार्यान्वयनसँगै नयाँ र नयाँ आर्थिक सम्भावना र चुनौती हाम्रो माझमा देखिएका छन्,’ उनले भने । अध्यक्ष शाहले भने, ‘विज्ञहरुसँगको परामर्शमा हामीले पाँचवर्षीय रणनीतिक योजना बनाएर कार्यान्वयनमा ल्याइसकेका छौँ ।

आर्थिक सम्भावनाका नयाँ क्षेत्र पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युत्को क्षेत्रमा बैंकको मुख्य व्यवसायलाई केन्द्रित गर्छौँ ।’ बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले छोटो समयमै मेगा, बैंक क्षेत्रमा उत्कृष्ट ब्राण्डका रुपमा स्थापित भएको बताइन् ।

‘हामीले बितेको आठ वर्षमा मेगा बैंकलाई एउटा सफल वित्तीय संस्थाका रुपमा स्थापित गर्यौं । टुरिजमसँगको मर्जरपछि झन मेगा बैंक चुक्ता पुँजीका आधारमा नेपालकै दोस्रो ठूलो बन्न सफल भएको छ । ग्राहकको विश्वास जित्दै हामी निरन्तर अघि बडिरहन्छौँ,‘ उनले भनिन् । रासस

तपाईको प्रतिक्रिया