साताको पहिलो दुई दिन कारोबार रकम र नेप्से दुवै बढ्यो


Share This


नेपालबहस संवाददाता    37 Views

काठमाडौं । साताको पहिलो दुई दिन करेक्सन भएको बजार, मंगलबार पुन बढेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ ।

गत साता नेप्से परिसूचक ४० अंक बढेपछि लगानीकर्ताहरू यस साताको पहिलो दुई दिन नाफा सुरक्षित गर्नतर्फ लागेका थिए । फलस्वरूप बजारमा करेक्सन भएको हो ।

सूचीकृत कम्पनीहरूले गत आवको मुनाफाबाट लाभांश घोषणा गर्ने क्रम जारी नै छ । लगानीकर्ताहरू लाभांश पाउने भएपछि उत्साहित भएका छन् । यसले बजार बढ्न टेवा पुगेको एक ब्रोकरले बताए ।

यसका साथै पुँजीगत लाभकरको विवाद छिट्टै अन्त्य हुनेमा लगानीकर्ताहरू आशावादी रहेका छन् । यसले पनि लगानीकर्ताको मनोबल बढाएको उनको भनाइ छ ।

नेप्से परिसूचक यस दिन ६ दशमलव ७७ अंक बढेर १ हजार २ सय १७ दशमलव ६५ बिन्दुमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव ८५ अंक बढेर २ सय ५८ दशमलव शून्य १ बिन्दुमा पुगेको छ ।

यस दिन १ सय ६८ कम्पनीको ४ हजार १ सय ७० पटकको कारोबारमा ३३ करोड ४२ लाख ५५ हजार ६ सय २३ रुपैयाँबराबरको ११ लाख १३ हजार २ सय ३१ कित्ता सेयर किनबेच भएको छ ।

यस दिनको कारोबार रकम अघिल्लो दिनको तुलनामा २० दशमलव ४४ प्रतिशत बढी हो । नेप्सेको १४ दिने आरएसआई यस दिन ५८ दशमलव शून्य ९ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ ।

कारोबार संख्या र कारोबार रकमका आधारमा यस दिन एनआइसी एसिया बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन १ सय ८२ पटकको कारोबारमा २ करोड ७४ लाख ५० हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

सेयर संख्याका आधारमा भने यस दिन कुमारी बैंक लिमिटेड अगाडि रहेको छ । यस दिन कुमारीको १ लाख ६ सय ३५ कित्ता सेयर खरिदबिक्री भएको छ । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयरमूल्य यस दिन १० प्रतिशत बढेर सर्किट ब्रेक लागेको छ । कम्पनीले ३० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेपछि लगानीकर्ताहरू सोतर्फ आकर्षित भएका हुन् ।

राष्ट्रिय बिमा कम्पनीको सर्वसाधारण तथा संस्थापक सेयरको मूल्य यस दिन ७ प्रतिशतभन्दा बढी घटेको छ । कारोबारमा आएका १ सय ६७ कम्पनीमध्ये यस दिन १ सय ५ कम्पनीको सेयरमूल्य बढेको छ भने ४४ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी १९ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

मंगलबार कारोबारमा आएका ११ मध्ये ९ समूहको परिसूचक बढेको छ भने २ समूहको परिसूचक घटेको छ । यस दिन होटेल समूहको परिसूचक सर्वाधिक २ दशमलव ७१ प्रतिशत बढेको छ । त्यसैगरी, उत्पादनमूलक समूहको परिसूचक १ दशमलव १ प्रतिशत, विकास बैंक समूहको १ दशमलव शून्य ८ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ७९ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ६८ प्रतिशत, अन्य समूहको शून्य दशमलव ५१ प्रतिशत, व्यापार समूहको शून्य दशमलव ४ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ३४ प्रतिशत र जलविद्युत् समूहको शून्य दशमलव २१ प्रतिशत बढेको छ । निर्जीवन बिमा समूहको परिसूचक यस दिन १ दशमलव १२ प्रतिशत घटेको छ भने वित्त समूहको शून्य दशमलव शून्य ४ प्रतिशत घटेको छ ।

किसानको लाभांश
किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ३० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट हालको चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि १ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपश्चात् सो लाभांश वितरण गरिनेछ । हाल कम्पनीको चुक्ता पुँजी ४ करोड ८० लाख ५० हजार रुपैयाँ रहेको छ ।

गरिमाको लाभांश
गरिमा विकास बैंक लिमिटेडले १३ दशमलव ७५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । भदौ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र करसहित ३ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंक र कम्पनीको साधारणसभाबाट पारित भएपश्चात् सो लाभांश वितरण गरिनेछ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५३ करोड ४८ लाख ७९ हजार रहेको छ ।

समताको हकप्रद बाँडफाँड
समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले भदौ २४ गते हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले असार ११ गतेसम्म कायम सेयरधनीहरूका लागि २ बराबर १ अनुपातमा निष्कासन तथा बिक्री गरेको सेयर बाँडफाँड गरेको हो । कम्पनीले निष्कासन गरेको कुल १ लाख ८९ हजार ६ सय कित्तामध्ये १ लाख ७३ हजार ३२ कित्ता सेयर बाँडफाँड गरेको हो ।

बाँडफाँडमा नपरेको सेयर बापतको रकम भदौ २८ गतेदेखि फिर्ता भुक्तानी गर्ने व्यवस्था गरिएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

विजय लघुवित्तमा नयाँ सञ्चालक
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र सञ्चालकमा अच्युतहरि अर्याललाई नियुक्त गरेको छ । भदौ २५ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले अर्याललाई सो पदमा नियुक्त गरेको हो । साथै, सोही बैठकले फूलमाया रानाभाट ढकाललाई सञ्चालक पदमा नियुक्त गरेको छ । ढकाल सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधि हुन् ।

ग्रामीणको स्वतन्त्र सञ्चालकमा दाहाल
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले रमेश दाहाललाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ । भदौ २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दाहाललाई सो पदमा नियुक्त गरेको हो ।

राष्ट्रिय बिमा कम्पनीको साधारणसभा
राष्ट्रिय बिमा कम्पनी लिमिटेडले असोज १९ गते अमृतभोग क्याटरर्स, कालिकास्थानमा वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । भदौ २५ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सो दिन साधारणसभा गर्ने निर्णय गरेको हो ।

सभामा आव ०६३/६४, ०६४/६५, ०६५/६६, ०६६/६७ र ०६७/६८ को वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज ५ गतेदेखि १९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

नयाँपत्रिकाबाट……

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार