युनिलिभरका शेयरधनीलाई ‘अमिलो प्रतिफल’ , शेयर मुल्यमा क्रमशः गिरावट


Share This


नेपालबहस संवाददाता    150 Views

काठमाडौं । नेपाली पूँजी बजारमा आफ्नो फरक पहिचान बनाएको युनिलिभर नेपालका शेयरधनीले नमिठो प्रतिफल पाउने भएका छन् । सर्वाधिक महङ्गो मुल्यको सेयर रहेको युनिलिभर नेपालले आफ्ना लगानीकर्तालाई बितरण गर्ने लाभांशमा भारी कटौती गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस पटक कम्पनीले नगद लाभांशमा भारी कटौती गर्दै प्रतिकित्ता ७ सय रुपैयाँ लाभांश दिने प्रस्ताव सार्वजनिक गरेपछि लगानीकर्ता टाउकोमा हात राख्न पुगेका छन् ।

अघिल्लो आर्थिक वर्षमा २५ औं वार्षिकोत्सव विशेष बोनस १७० रुपैयाँ सहित प्रतिकित्ता १२७० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । त्यस बेला कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३० हजार १०० रुपैयाँ हाराहारी थियो ।

गत आर्थिक वर्षको कमाईबाट युनिलिभरले प्रतिकित्ता ७ सय रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । अहिले युनिलिभरको प्रतिकित्ता सेयरमूल्य २४ हजार ६६३ रुपैयाँ छ । उल्लेखित सेयरमूल्यका आधारमा अहिले कसैले युनिलिभरको १०० कित्ता सेयर किन्दा साढे २४ लाख रुपैयाँभन्दा बढी रकम लगानी गर्नु पर्ने हुन्छ ।

उक्त लगानीबाट पाउने लाभांश प्रतिफल ७० हजार रुपैयाँ मात्र हुन आउँछ । लगानीका आधारमा प्रतिफलको प्रतिशत भने २ दशमलव ८३ प्रतिशत मात्र हुन आउँछ ।

९ करोड २१ लख रुपैयाँ चुक्ता पूँजी रहेको युनिलिभरले गत आर्थिक वर्षमा ९९ करोड ९४ लाख रुपैंया खुद नाफा गरेको थियो । अघिल्लो आर्थिक वर्षमा ९६ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको युनिलिभरले कमाई बढ्दा लाभांसको आकार भने घटाएको हो ।

अघिल्लो आर्थिक वर्षमा १ अर्ब १६ करोड ९६ लाख ७० हजार रुपैयाँ लाभांश वितरण गरेको युनिलिभरले गत आर्थिक वर्षमा ६४ करोड ४७ लाख रुपैयाँ लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीले आगामी कात्तिक ६ गते मंगलबार साधारण सभा बोलाएको छ । उक्त साधारण सभाबाट पारित भए पछि मात्र लगानीकर्ताले प्रस्तावित लाभांश पाउने छन् ।

युनिलिभर नेपालले चौथो त्रैमास सम्म आईपुग्दा मुनाफा ३० करोड ४३ लाख रुपैयाँ कमाएको थियो, जुन गत वर्षको तुलनाभन्दा ३१ दशमलव ४६ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा ४४ करोड ४० लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको युनिलिभरले जगेडाकोषमा १ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ राखेको छ । कम्पनीको कुल आम्दानीमा ६ दशमलव ५९ प्रतिशतले बढेर १ अर्ब ९८ करोड २२ लाख रुपैयाँ पुगेको छ । कम्पनीले विक्री १ अर्ब ४३ करोड रुपैयाँको गरेको छ । जसले आम्दानीमा सामान्य गिरावट गर्दै १ अर्ब ५५ करोड कमाएको छ भने खर्च १२ दशमलव ०२ प्रतिशतले बढेर १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । कम्पनीको सञ्चालन मुनाफा २० दशमलव ३० प्रतिशत घटेर ४६ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।

युनिलिभर नेपाल लिमिटेडको चौथो त्रैमासमा प्रति शेयर आम्दानी ३३१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २७ दशमलव ८६ गुणा, प्रति शेयर नेटवर्थ २ हजार १ सय ५३ रुपैयाँ र तरलता अनुपातको २ दशमलब ५६ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार