विश्वका लगानीकर्तालाई नेपालमा लगानी गर्न ढकालको आग्रह


Share This


नेपालबहस संवाददाता    70 Views

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले हाल स्थीर सरकार बनेको र लगानीको लागि सुरक्षित वातावरण निर्माण भएकोले लगानी गर्न विश्वका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।

स्वीट्जरल्याण्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठनको १०७औँ सत्रलाई बिहीबार सम्बोधन गर्दै उनले नेपालमा लामो राजनीतिक संक्रमण र अस्थिरतापछि स्पष्ट बहुमतको सरकार निर्माण भई राजनीतिक स्थायित्व प्राप्त भएको भन्दै लगानीका नयाँ र कैयौँ सम्भावनाहरुतर्फ विश्वका लगानीकर्ताहरुलाई लगानी गर्न आग्रह गरेका छन् ।

ढकालले नेपालीउद्योगीका हैसियतमा सम्बोधन गर्दै नेपालले श्रमसम्बन्धी कानुनमा हालै सुधार गरेको र श्रमिकका हक अधिकारहरुको सुनिश्चिततामा उल्लेख्य व्यवस्था गरिएकोले औद्योगिक उत्पादन र रोजगारी सृजनाका क्षेत्रमा नेपालले अब उल्लेख्य उपलब्धि हासिल गर्ने अपेक्षा गरेको बताए ।

विकसित राजनीतिक स्थीरताका कारण देशमा रोजगारीका थप सम्भावनाहरुको बृद्धि, औद्योगिक उत्पादन तथा सम्बन्धमा विकास र विस्तार तथा उत्पादकत्व र आर्थिक बृद्धिका क्षेत्रमा पनि उल्लेख्य प्रगति हुने अपेक्षा मुलुकको निजी क्षेत्रले गरेको धारणा पनि सो सम्बोधनमा राखेका थिए ।

आर्थिक बृद्धिले मात्रपनि सामाजिक न्याय हुन नसक्ने भन्दै ढकालले आर्थिक विकासको प्रतिफल देशको तल्लो तहसम्म तथा निम्न बर्गका नागरिक सम्म पुग्न सक्नुपर्नेमा जोड दिँदै यसका लागि उद्यमशिलताको दिगो विकास र उचित नीतिको ठूलो महत्व रहने र यसले नै कुनै पनि देशको सामाजिक रुपान्तरणका लागि सघाउ पुर्याउने बताए ।

उक्त सत्रमा आइएलओका सदस्य रहेका विश्वका १८० भन्दा बढी देशका सरकार तथा राज्यप्रमुख, श्रममन्त्री, उद्यमी तथा औद्योगिक क्षेत्रका अगुवा र प्रतिनिधि तथा श्रमिक र श्रमिक नेताहरु गरी ४ हजार भन्दा बढीको सहभागिता रहेको ढकालले बताए । जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठनको १०७औँ सत्रयही मे २८ देखि जुन ८ सम्मउक्त सत्र सञ्चालन हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया