विराटनगरबाट मात्रै १० करोडको पाउडर दूध आयात


Share This


नेपालबहस संवाददाता    

विराटनगर । प्रदेश नम्बर १ का किसानको दैनिक १ करोड २५ लाखभन्दा बढी मूल्यको २ लाख ८५ हजार लिटर दूधले बजार पाउन सकेको छैन।

प्रदेश नम्बर १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका किसानको दैनिक सवा करोड मूल्य बराबरको दूध विक्री गर्न नपाएको जानकारी दिएको हो । दूध नबिकेपछि झापा जिल्लाको शरणामतीका किसानले गत महिना सडकमा दूध पोखेर विरोध जनाएका थिए । करिब ३ सय किसानले आफूले जम्मा पारेको दूध विक्री नभएकोमा विरोध प्रकट गर्दै सडकमै दूध घोप्ट्याएका हुन् ।

मन्त्रालयका उपसचिव एवम् पशुपंक्षी विकास महाशाखाका प्रमुख डा. अशोककुमार सिंहका अनुसार प्रदेशमा च्याउझैँ पलाएका निजी डेरी किसानसित दूध खरिद गरेरभन्दा पाउडर घोलेर दूध बेच्न पल्किएपछि किसानको दूध विक्री हुन छाडेको हो ।

‘धूलो दूधमा नौनी घोलेर फ्याटसहितको दूध तयार गर्र्दा प्रति लिटर ४५ रुपैयाँ लागत पर्छ’, कृषि सहकारीका एक सञ्चालकले भने, ‘तर किसानसित दूध खरिद गरेर बजारमा बेच्न पुर्याउँदा लागत प्रति लिटर ५६ रुपैयाँ हुन्छ । धूलो दूधको प्रयोगबाट प्रति लिटर १२ रुपैयाँको नाफाको स्वाद पाएका निजी डेरी देखाउनका लागि मात्र किसानको दूध न्यून परिमाणमा खरिद गर्छन् ।’

अघिल्लो आर्थिक वर्ष २०७२÷०७३ का तुलनामा गत आर्थिक वर्ष २०७३र०७४ मा प्रदेशमा दूधको उत्पादन ४ प्रतिशतले बढेको महाशाखाको दाबी छ । प्रदेशमा आव २०७३÷०७४ मा ५४ करोड ९७ लाख ५१ हजार लिटर दूध उत्पादन भएको महाशाखाले जनाएको छ ।सिंहले प्रदेश दूधमा आत्मनिर्भर भएको र यहाँ दूधको पैठारी गरिरहनु नपर्ने बरु निर्यात गर्न सक्ने अवस्थामा रहेको दाबी गरे ।

तर विशेषज्ञ सिंहको दाबीका विपरीत विराटनगर भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा १० करोड मूल्य बराबरको ३ लाख ७ हजार १ सय ७३ किलोग्राम पाउडर दूध तेस्रो मुलुकबाट आयात गरिएको तथ्याङ्क छ ।

एक किलोग्राम धूलो दूधबाट १२ लिटर दूध तयार गर्न सकिन्छ । चालु जेठ महिनासम्म पैठारी गरिएको दूधबाट ३६ लाख ८६ हजार लिटर दूध उत्पादन हुनसक्ने उपसचिव सिंहको भनाइ छ । उनले भने, ‘यसबाहेक काँकडभिट्टा नाकाबाट गरिएको धूलो दूधको पैठारी र यसबाट तयार हुनसक्ने दूधको त हामीले हिसाब नै गरेका छैनौँ ।’

निजी डेरीले पाउडर प्रयोग गरेर किसानको दूध खरिद नगरेपछि विराटनगरको दुग्ध विकास संस्थानमा चाप परेको छ । संस्थानसित दैनिक ३० हजार लिटर दूधको व्यवस्थापन गर्ने क्षमता भए पनि ६० हजार लिटर आइरहेको संस्थानका दूध उत्पादन प्रमुख दामोदर ढकालले बताए ।

‘संस्थानको विराटनगरस्थित भण्डार धूलो दुध, मखन र घिउले खचाखच भरिएको छ’, प्रमुख ढकालले भने, ‘तर पनि दूध बढी आइरहेको छ र व्यवस्थापन गर्न समस्या भइरहेको छ ।’

निजी डेरीमा गुणस्तरको समस्या
न्यून गुणस्तरको दूध र दुग्धजन्य पदार्थ उत्पादन गर्नेमा निजी डेरी र खुला विक्रेता भएको ठहर सरकारी अनुगमन र परीक्षणले गरेको छ । विराटनगरस्थित खाद्य तथा गुण नियन्त्रण कार्यालयका अनुसार प्रदेश १ का ६ वटा डेरीले न्यूनतम मापदण्ड पूरा नगरी दूध र दूधबाट उत्पादित सामग्री विक्री गरेको पाइएको छ ।कार्यालयका प्रमुख प्रमोद कोइरालाले ती डेरीको नाम सार्वजनिक गर्न नमिल्ने बताए ।

मापदण्ड पूरा नगरिएको दूधमा घृतांश ९फ्याट०–मा ठगी गरेको, शरीरलाई घातक हुने केमिकल दूधमा मिसाएको र दूध फाट्न नदिन सोडिएम हाइड्रोअक्साइड घोल्ने गरेको पाइएको छ । उपभोक्ता संरक्षण ऐन २०५४ को दफा १० अनुसार गुणस्तरीय छ भनेर गुणस्तरहीन वस्तु बिक्री गर्न पाइँदैन ।

गुणस्तरीय छ भनेर गुणस्तरहीन वस्तु बिक्री गरेमा सोही ऐनको दफा १० ९ग०–ले ५ वर्षसम्म कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ । दूधजस्तो संवेदनशील र अत्यावश्यक उपभोग्य वस्तुमा मिसावट गर्नेलाई कडा कारबाही गरिएको जानकारी सरकारी निकायले अझै दिन सकेको छैन ।

तपाईको प्रतिक्रिया