चीनले बाँस र बेतजन्य उद्योग खोल्न सहयोग गर्ने


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । चीनले बाँस र बेतजन्य उद्योग स्थापनाका लागि नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको हालै सम्पन्न चीन भ्रमणका क्रममा त्यससम्बन्धी सम्झौता ‘एमओयू’ मा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा नेपालका तर्फबाट वन तथा वातावरण मन्त्रालयका सह–सचिव यज्ञनाथ दाहाल र चीनका तर्फबाट ‘चाइना नेशनल फरेष्ट प्रोडक्ट इन्डष्ट्री एयोसिएसन’का सी फेङले हस्ताक्षर गरेका छन् । सह–सचिव दाहाललले नेपालमा बाँस उद्योगको सम्भावना प्रचुर रहेको बताएका छन् ।

नेपालमा बाँसजन्य सामग्रीको उद्योग स्थापनाका लागि चीनले आवश्यक प्रविधि, उपकरण तथा व्यवसायिक तालिम उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । सम्भौता चीनको प्रस्तावित महत्वाकांक्षी योजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ ‘ओबीआर’ सँग सम्बन्धित रहेको मन्त्री बस्नेतले जानकारी दिए ।

सम्झौता कार्यान्वयनमा आवश्यक कानूनी तथा नीतिगत व्यवस्थाका लागि सन् २०१८ भित्रै काठमाडौंमा नेपाल र चीनका सरकारी अधिकारी, विज्ञ तथा उद्योगीका प्रतिनिधि सम्मिलित कार्यशाला आयोजना गर्नेसमेत सहमति भएको छ ।

पछिल्लो समय चीनमा बाँस तथा बेतबाट निर्माण हुने सामग्रीको प्रयोग बढ्दै गएको छ । चिनियाँ उपभोक्ताबीच बाँस र बेतबाट घर तथा कार्यालय भवनका साथै शौचालय, पलङ, दराज, टेबल, कुर्सीलगायत फर्निचरका सामग्री लोकप्रिय छन् ।

नेपालका कतिपय भू–भाग र चीनको हावापानी समान भएका कारण नेपालमा बाँस र बेतको व्यवसायिक खेतीको सम्भावना अत्याधिक भएकाले उक्त सम्भावनालाई मुलुकको आर्थिक समृद्धिका लागि भरपुर उपयोग गर्न सकिने मन्त्री बस्नेतको विश्वास छ ।

उनका अनुसार बाँसबाट सामग्री उत्पादन गर्दा कार्बन उत्सर्जनमा उल्लेख्य कमी आउने र वातावरणीय सन्तुलन कायम हुनेछ । काठ भन्दा छिटो हुर्कने र प्रसस्त मात्रामा पाइने भएकाले पनि बाँस उद्योगको सम्भावना छ ।

तपाईको प्रतिक्रिया