ढल निकासको लागी ३ अर्ब लगानी, पहिलो वर्षमै असफल


Share This


नेपालबहस संवाददाता    

नगरक्षेत्रका अधिकांश स्थान डुबानमा

वीरगञ्ज । वीरगञ्ज महानगरले ढल निकासको लागि खर्चिएको ३ अर्ब रुपैयाँभन्दा बढीको लगानी बालुवामा पानीजस्तै भएको छ । वीरगञ्जमा ढल तथा नाला निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनी र कालिका कन्स्ट्रक्सनले बनाएको नाला पहिलो वर्षमै असफल देखिएको छ ।

सोमबारको वर्षातको पानी निकास हुन नसकेर नगरक्षेत्रका अधिकांश स्थान डुबानमा परे । मुख्य बजार आदर्शनगर, पानीटंकी, कुम्हालटोल, छपकैया, श्रीपुरलगायतका स्थान जलाम्य भएर सर्वसाधारणलाई सास्ती पुग्यो । एडिबीको ऋणमा बनाइएको यो परियोजनाबाट नगरको ढल निकासको समस्या समाधान हुने अपेक्षा गरिएकोमा पहिलो बर्खामै निर्माणको असली रुपमा देखा परेको छ ।

वीरगञ्जमा नाला निर्माण भइराख्दा जानकारहरुले डिजाइन गलत भएको भन्दै समस्या आउन सक्नेमा सचेत गराए पनि महानगरपालिकाका केही आफैमात्र जान्ने प्रवृत्तिका इन्जिनियर र निर्माण कम्पनीको मलिभगतमा डिजाइन नै परिवर्तन गरिएको जानकारहरु बताउँछन् ।

स्मरण रहोस पहिलो परियोजनाको डिजाईन परिवर्तन गरी काम घटाएर कालिकालाई फाइदा पु¥याउने काम भएको चर्चा धेरै पुरानो भएको छैन । ५४ किलोमीटर नाला बनाउनुपर्नेमा डिजाइन परिवर्तन गरी ४५ मा झारिएको र त्यसमा सस्तो कोटेसनलाई उल्ट्याएर महँगो दरको कामको स्वीकृती कालिकालाई पोस्नकै लागि भएका तिकडमको चर्चा अहिलेसम्म सेलाएको छैन ।

ढल, नाला र बाटो निर्माणका बारेमा जानकार प्राविधिकहरूले कालिकाले गरेको कामको टिकाउमा प्रश्न उठाउँदै आएका थिए । आफूमात्र जान्ने ठान्ने महानगरका केही माठाधीस इन्जिनियरहरुले यो कुरालाई हावामा उडाए पनि पहिलो बर्खामै असलियत बाहिर आएको छ ।

गतवर्ष नाला निर्माण भइराख्दा सिर्सिया नदीको बाढी ढल हुँदै सहर पसेको थियो । त्यसबेला महानगरका इन्जिनियरहरुले अनपेक्षित बाढीलाई कारण देखाउँदै निर्माण कम्पनीको बचाउ गरेका थिए ।

यसपटक सानै वर्षामा नदीको बहावले ढलको सतहलाई पार गर्न खोजेको देखिएको छ ।यसबाट ढलको न्यून गुणस्तर र गलत डिजाइन प्रमाणित भएको छ । महानगरले एडिबीको साढे २ अर्ब रुपैयाँको दोस्रो चरणको काम पनि कालिकालाई नै सुम्पिएको छ ।

तपाईको प्रतिक्रिया