अर्को बर्ष फेवातालमा केवलकार सरर………!


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । जापानीज र नेपाली लगानीकर्ता मिलेर सुन्दर पर्यटकीय शहर पोखरामा निर्माणाधिन अन्नपूर्ण केवलकार अर्को बर्षदेखि संचालनमा आउने भएको छ । उक्त केवलकार फेवातालको किनारामा रहेको सेदीबगरदेखि सराङकोटसम्म साढे दुई किलोमिटर लामो हुनेछ ।
प्रतिष्ठित व्यवसायी कालु गुरुङ समूहको ८५ र जापानीज समूह मियाहराको १५ प्रतिशत लगानीमा गतबर्षदेखि यो केवलकार बन्न लागेको हो । जापानी समूहमा टाकासी मियाहराको लगानी छ । पहिले मियाहरा जापानी नागरिक थिए तर धेरै बर्ष अगाडी जापानी नागरिकता त्यागेर उनी नेपाली नागरिक भैसकेका छन ।

इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी)मोडलमा निर्माण ठेक्का पाएको चितवन कोईले वटम स्टेशनको काम अन्तिम चरणमा पुर्याएको छ ।
‘हामीले ०७६ वैशाख अगावै निर्माणसक्ने गरि काम गरिरहेका छौं’ कम्पनीका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठले भने,हामीले केही स्थानमा टावर उठाउने काम सुरु भइसकेको छ । उनका अनुसार जग्गा लगायतको समस्या नभएमा तोकिएकै समयमा केवलकार संचालनमा आउनेछ ।

मियाहरा ललितपुरमा रहेको होटल हिमालयका संचालक पनि हुन् । उनले साराङकोटमा सुविधा सम्पन्न होटल समेत निर्माण गरिरहेका छन् । कम्पनीका अनुसार स्थिर पुँजी ५८ करोड ५० लाख र चालु पुँजी एक करोड ५० लाख गरी कुल ६० करोड रुपैंयाँ कुल पुँजीमा केबलकार निर्माण गर्न लागिएको हो ।

कम्पनीका अनुसार जापानी कम्पनी निप्पोनको प्रविधिबाट बन्ने केबलकारमा १६ देखि ३६ डिब्बा रहनेछन् । २ हजार १ सय मिटर दुरीमा १४ वटा पोल रहने केबलकारमा ७ देखि ९ मिनेटसम्मको यात्रा हुने कम्पनीले जनाएको छ । केबलकार यात्रामा हिमाल, ताल र पोखराको उत्कृष्ट दृश्यावलोकन हुने भएकाले पर्यटकका लागि नयाँ गन्तब्य बन्नेछ ।

केबलकारको यात्रामार्फत एकैपटक फेवाताल, शान्ति स्तूपा, हिमश्रृंखला र पोखरा बजारसँगै आसपासका स्थान अवलोकन गर्न सकिनेछ । यात्राकै बेलामा यात्रुले केबलकारको डिब्बाबाटै सूर्योदय र सूर्यास्त सहज रुपमा देख्न सकिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार