राष्ट्रपति सर्वोत्कृष्ट पुरस्कार गोरखाका कृषक पन्तलाइ प्रदान


Share This


नेपालबहस संवाददाता    

३ सयवटा गाई पालेर वार्षिक १ करोड आम्दानी, ३५ जना स्थायी कर्मचारी !

काठमाडौं । हरिहरभवनस्थित कृषि विभागमा आयोजित एक समारोहमा नगद २ लाख रुपैयाँसहित राष्ट्रपति सर्वोत्कृष्ट पुरस्कार गोरखाका कृषक राजेन्द्र पन्तलाई प्रदान गरिएको छ ।

गोरखा पालुङटारमा ३ सयवटा गाई पालेर वार्षिक १ करोड रुपैयाँ कुल आम्दानी गर्दै आएका पन्तलाई बुधबार कृषि मन्त्री चक्रपाणी खनालले यस वर्षको सर्वोत्कृष्ट कृषक घोषणा गर्दै नगद सहित पुरस्कार वितरण गरेका छन् ।

पन्तले २०५२ सालमा स्थापना गरेको कामधेनु गाई पालन केन्द्रको हाल कुल लगानी ५ करोड पुगेको छ । परिवारका ६ सदस्यसहित ३५ जना स्थायी कर्मचारी पन्तले फार्ममा राखेका छन् ।

दुधे गाई २ सय ६० वटा र ४० बाच्छारबाच्छी पालेका पन्तले ३ सय ४० रोपनीमा घाँस खेती उत्पादन गरेका छन् । उनको फार्ममा होलिस्टीन र जर्सी नश्लका गाई छन् । पन्तले दुध बिक्रि गरेर वार्षिक १ करोड ५ लाख रुपैया आम्दानी गर्ने गरेका छन् । कृषि क्षेत्रको सबैभन्दा ठूलो धनराशीको ‘राष्ट्रपति कृषक पुरस्कार’ पाउनेमा पन्त चौथो किसान परेका छन् ।

व्यावसायिक कृषि पेशामा युवा पुस्ताको आर्कषण बढाउन सरकारले आर्थिक वर्ष ०७०र०७१ देखि थालेको यो पुरस्कार प्राप्त गर्नेमा टिकापुरमा १० विगाहा जमिनमा केरा खेती गर्ने कालु हमाल पहिलो, दोस्रो वर्ष कास्कीको लाहाचोकमा ६ करोड लगानीमा भैसीपालन गर्दै आएका इमान बहादुर गुरुङ पुरस्कृत भएका थिए ।

यस्तै वार्षिक ३ करोड रुपैया बराबरको माछाको कारोबार गर्ने सर्लाही पिडारीका अफजल हुसेन गत वर्ष सर्वोत्कृष्ट कृषक पुरस्कार प्राप्त गर्ने तेस्रो किसान बनेका थिए ।

त्यसैगरी मन्त्रालयले चार जना किसानलाई राष्ट्रपति उत्कृष्ट पुरस्कार प्रदान गरेको छ । केन्द्रमा कृषि सचिवको नेतृत्वको बैठकबाट सबै क्षेत्रमा पुरस्कृत भएका किसान मध्येबाट ५ जनालाई उत्कृष्टको सूचीमा छनौट गर्दै ती मध्येबाट एक जनालाई सर्वोत्कृष्ट कृषक घोषणा गर्ने गरिन्छ ।

यसैबीच यस वर्षदेखि सर्वाधिक कृषि बाली तथा पशुपंक्षी विमा गर्ने कम्पनीलाई पनि सम्मान गर्न थालिएको छ । यसअन्तर्गत एन.एल.जी इन्स्योरेन्स कम्पनीलाई सर्वोत्कृष्ट घोषणा गरिएको छ भने सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीलाई उत्कृष्ट घोषणा गरिएको छ ।

तपाईको प्रतिक्रिया