सडक विस्तार र निजी गाडी प्रयोगकर्ता वृद्धि , मुलुकभर ३१ लाख सवारी साधन


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । सडक विस्तार र निजी गाडी प्रयोगकर्ता वृद्धि हुँदा मुलुकमा सवारी साधनको संख्या करिब ३१ लाख पुगेको छ।

चालु आर्थिक वर्ष ०७४र७५ मात्र तीन लाख हाराहारी नयाँ सवारी थपिएर ३० लाख ८० हजार पुगेको यातायात व्यवस्था विभागले जनाएको छ।

ग्रामीण क्षेत्रमा सडक विस्तार, व्यक्तिगत सवारी किन्ने बढ्दो प्रचलन र आयस्तरमा आएको परिर्वतले सवारी संख्या बढाउन मद्दत गरेको हो। मोटरगाडीको आयात बर्सेनि बढिरहेको यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्यालले बताए।

यो वर्ष बस १६ सय ९१, मिनिबस, मिनिट्रक नौ सय ५७, लोडर, एस्काभेटर ३९ सय ६६, कार–जिप–भ्यान ७६ सय ५१, पिकअप जिप ४१ सय ५४, टेम्पो १० हजार ७६, मोटरसाइकल एक लाख ८३ हजार दुई सय १७, पावर टेलर ६१ सय ८९ र इ–रिक्सा ६१ सय ३१ वटा दर्ता भएको विभागले जनाएको छ।

पछिल्लो एक दशकमा सवारी साधन संख्या पाँच गुणा बढेको विभागको भनाइ छ। आर्थिक वर्ष ०६३र६४ मा ८८ हजार सात सय ३५ सवारी दर्ता भएकोमा ०७३र७४ मा आइपुग्दा वार्षिक सवारी साधन दर्ताको संख्या चार लाख ४४ हजार दुई सय ५९ पुगेको छ ।

बस, मिनिबस, मिनिट्रक, कार, जिप, भ्यान, पिकअप, माइक्रो, टेम्पो, मोटरसाइकल, ट्याक्टर लगायत सवारी दर्ता भएका हुन्।

आर्थिक वर्ष ०६३र६४ मा कार, जिप प्रयोगकर्ताको संख्या पाँच हजार एक सय ५६ रहेकोमा चालु आवमा आइपुग्दा २१ हजार दुई सय ९२ पुगेको छ। सार्वजनिक सवारीमा बेथिति हुँदा निजी सवारी साधनको आवश्यकता बढेको हो।

नेपालमा बिलासी गाडी प्रयोग गर्नेको संख्या पनि बढ्दो छ। नेपालीले पाँच करोड रुपैयाँसम्म पर्ने कार चढिरहेका छन्।

नेपाली बजारमा टोयोटा, मर्सिडिज, भक्सवागन, माज्दा, किया, हुन्डाई, बिएमडब्लु, फरारी, पिजियो, निसान, होन्डा, सुवारु, मित्सुबिसी, हम्मर लगायत विश्व बजारमा चर्चित ब्रान्डका महँगा गाडी पनि बिक्री भइरहेका छन्।

व्यापारिक घराना, कूटनीतिक नियोग, उच्च आम्दानी हुने बैंकर, कर्पोरेट हाउसमा माथिल्लो तहका कर्मचारीको रोजाइमा पनि महँगा गाडी परेका छन्। गाडीका सौखिनकै कारण महँगा र बिलासी गाडी सडकमा देखिने क्रम बढेको छ।

तपाईको प्रतिक्रिया