fbpx

सौराहामा अब सुविधासम्पन्न बस चल्ने


Share This

नेपालबहस संवाददाता    

चितवन। सौराहाबाट पोखरा र पोखराबाट सौराहाका लागि सुविधासम्पन्न पर्यटक बस सञ्चालनमा ल्याइने भएको छ।पोखरा जगदम्बा ट्राभल्सले भोलि मंगलबारदेखि दैनिक सौराहाबाट पोखराका लागि एउटा र पोखराबाट सौराहाका लागि एउटा बस सञ्चालन गर्न लागेको हो।

ट्राभल्सका अध्यक्ष केशव अधिकारीका अनुसार २१ जनाको क्षमता भएको सो बसको एकतर्फी भाडादर एक हजार ५०० रहेको छ।भाडाबापत यात्रुले बिहानको खाजा, खाना, चिया, कफी, चिसो पेय पदार्थसँगै पत्रपत्रिका पढ्न पाउने उनले जानकारी दिए। बसमा आरामले सुतेरसमेत यात्रा गर्न सकिने अधिकारीको भनाइ छ।

सौराहाबाट हाल एउटा पर्यटक बस र एउटा भाडाको गाडी पोखरा दैनिक आवतजावत गर्ने गरेको छ। क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले सुविधासम्पन्न बस सञ्चालनसँगै खर्च गर्न चाहने पर्यटकका लागि सहज हुने बताए। पछिल्लो समय पर्यटकले सुविधा खोज्दै गएको भन्दै उनले यससँगै चितवनको सौराहा र कास्कीको पोखराका बीचमा पर्यटक आवतजावतका लागि सहज हुने बताए।

पोखरा जगदम्भा ट्राभल्सको बस बिहान साढे सात बजे सौराहाबाट र सोही समयमा पोखराबाट छुट्ने छ। सो ट्राभल्सका ६० वटा बस पोखराबाट काठमाडौँ, विराटनगर, धनगडी, काँकडभित्ता, धरानलगायतका शहरमा सञ्चालन हुँदै आएका छन्।

तपाईको प्रतिक्रिया