fbpx

अन्नबाली लगाउने कृषक जडीबुटी खेतितर्फ आकर्षित


Share This

नेपालबहस संवाददाता    

सल्यान । पछिल्लो समय जिल्लामा स्थानिय कृषकहरु जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागतरुपमा अन्नबाली लगाउँदै आएका कृषक जडीबुटीबाट मनग्य आम्दानी हुने भएपछि अन्नबाली बाली मासेर जडबुटीखेती गर्न थालेका हुन् ।

कुरिलो, तेजपात, काउलो, रोजमेरीलगायतका जडीबुटीका लागि यहाँको हावापानी अनकूल भएकाले यसको विस्तार हुँदै गएको छ । प्राकृतिकरुपमा सामुदायिक वनमा पाइने टिमुर कृषकले खेतबारीको डिलमा विस्तार गरी आयआर्जन गर्दै आएका छन् ।

जडीबुटीबाट पर्याप्त आम्दानी हुने भएपछि कृषक सामूहिक उत्पादनमा लागेका छन् । छत्रेश्वरी गाउँपालिका– २ स्थित रुपान्तरण जडीबुटी कृषक समूह र लालीगुराँस जडीबुटी कृषक समूह बनाएरै कृषकले जडीबुटी उत्पादन शुरु गरेको छत्रेश्वरी गाउँपालिका– २ का वडाध्यक्ष प्रेमबहादुर खड्काले बताए।

समूहमा टिमुर लगाउने निर्णय गरेर खेती शुरु गरिएको रुपान्तरण जडीबुटी कृषक समूहकी अध्यक्ष कमला केसीले बताए। प्रत्येक सदस्यले वर्षमा डेढदेखि दुई क्विन्टलसम्म टिमुर उत्पादन गर्छन् ।

लालीगुराँस जडीबुटी उत्पादन समूहका ३२ कृषकले जडीबुटी खेतीबाट पर्याप्त आम्दानी गरिरहेको अध्यक्ष हीरालाल वली बताउनुहुन्छ । समूहमा आबद्ध सबैले ५० किलोदेखि २०० किलोसम्म टिमुर उत्पादन गरिरहेका छन् ।

जिल्लामा उत्पादन हुने टिमुर र रोजमेरीलाई प्रशोधन गरी तेल निकाल्न जिल्लामै उद्योग खुलिसकेको छ । झण्डै रु एक करोडको लागतमा श्रीनगरमा महालक्ष्मी हर्बल उद्योग स्थापना भएको छ । जडीबुटी खरिद बिक्री गर्न जिल्ला वनस्पति कार्यालय र स्थानीय तहको पहलमा उद्योगसँग कृषकको सम्झौता भएको छ ।

पाँचवटा जडीबुटी कृषक समूहलाई जिल्ला वन कार्यालयले टिमुरखेतीका लागि आवश्यक औजार र सामग्री वितरण गरेको सूचना अधिकारी कृष्ण पुनले बताए। फल पाकेर रातो भएपछि असोजको दोस्रो हप्तादेखि मंसिरसम्म टिमुर संकलन गरिसक्नुपर्छ । संकलित फललाई घाममा सुकाउनु पर्छ ।

जिल्लाबाट गत आवमा तीन लाख ५३ हजार ७०२ किलो टिमुर जिल्ला बाहिर बिक्री गरिएको थियो । टिमुरबाट रु २५ लाख ४६ हजार राजश्व संकलन भएको जिल्ला वन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार