fbpx

कपडा उद्योग चलाउने जिम्मा नेपाली सेनालाई


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सरकारले नेपाली सेनालाई संलग्न गराएर हेटौंडा कपडा उद्योग पुनः सञ्चालन तयारी गरेको छ । कपडा उद्योग सञ्चालनका लागि गठित सेनाका अधिकृतसहितको कार्यदल अध्ययनका लागि हेटौंडास्थित उद्योगमा पुगेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव शत्रुघनप्रसाद पुडासैनी संयोजकत्वको कार्यदल हेटौंडा कपडा उद्योगमा पुगेर अध्ययन थालेको छ ।

झण्डै एक साताअघि कपडा उद्योगलाई सञ्चालनमा ल्याउनेबारे अध्ययन गर्नका लागि नेपाली सेनाको तर्फबाट ३ जना र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको तर्फबाट ४ जना गरी ७ सदस्यीय संयुक्त समिति बनाइएको थियो ।

समितिले उद्योगको मेसिन र पूर्वाधार अवस्था लगायतका विषयमा अध्ययन गर्ने सहसचिव पुडासैनीले बताए । उनकाअनुसार सञ्चालन र लगानीको मोडालिटीको सिफारिससहित केही दिनभित्रै कार्यदलले प्रतिवेदन तयार पार्ने बताइएको छ ।

उद्योगको क्षमता

यही प्रतिवेदनका आधारमा कपडा उद्योग सञ्चालन गर्न आवश्यक प्रक्रिया अघि बढाइने उद्योगमन्त्री मात्रिकाप्रसाद यादवले बताए ।सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा कपडा उद्योग २०५७ सालदेखि बन्द छ ।

२०३५/३६ देखि व्यावसायिक रुपमा उत्पादन शुरु गरेको कपडा उद्योगको दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्नसक्ने क्षमता छ । बन्द हेटौडा कपडा उद्योग १ सय ८८ रोपनीमा फैलिएको छ ।

नेपाली सेनाले दुई वर्ष अघि नै बन्द हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने प्रस्ताव गरेको थियो । ०६९ माघ १२ को मन्त्रिपरिषद बैठकले हेटौडा कारखानाको सम्पत्ति शेयर लगानीका रुपमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा गाभेको थियो ।

पटक-पटकको प्रयास

बाबुराम भट्टराई अर्थमन्त्री भएको समयमा पनि उद्योग चलाउन तयारी गरिएको थियो । तर, राजनीतिक अस्थिरताका कारण त्यो योजना तुहाइयो । पछि नवीन्द्रराज जोशी उद्योगमन्त्री हुँदा पनि यस्तै अध्ययन गर्न समिति बनाइएको थियो ।

कपडा उद्योग चीन सरकारको सहयोगमा स्थापना भएको थियो । नेपालमै ठूलो कपडा उत्पादक रहेको यो उद्योग लामो समयसम्म नाफामा सञ्चालन भएको थियो ।

तर, राजनीतिक हस्तक्षेप र फितलो व्यवस्थापनका कारण बन्द भएको थियो । प्रत्यक्ष १५ सयभन्दा बढीलाई जागिर खुवाउने यो उद्योगमा पनि चरम राजनीतिकरण भएको थियो ।

कर्मचारीहरुको सेवासुविधा वृद्धिको माग पुरा गर्नु साटो बन्द गर्न उपयुक्त ठान्यो, सरकारले । जबकी, आन्दोलनका शृंखला शुरु हुनु अघिसम्म उद्योग नाफामा थियो ।

सुरक्षा निकायको पोशाक उत्पादक !

उक्त उद्योगका धेरै मेसिनहरु अहिले पनि चलाउन सकिने अवस्थामा रहेको विभिन्न अध्ययनले देखाएका छन् । उद्योग सञ्चालनमा आउनासाथ पहिलो चरणमा सरकारी पोशाक, सेना, प्रहरी र विद्यालयको पोशाक उत्पादन गर्ने योजना सरकारको छ ।

सेना आफैं पनि यसमा संलग्न हुने भएकाले उद्योग चलाउन समस्या नहुने अपेक्षा सरकारको छ । कपडा उद्योगमा रहेको औजार तथा उपकरणमध्ये करिब ४० प्रतिशत अहिले नै प्रयोग गर्न सकिने अवस्थामा छन् ।

तर, झण्डै ३० प्रतिशत औजार तथा उपकरणको मर्मत गर्नुपर्ने अवस्थामा छन् । ३० प्रतिशत हाराहरीका मेसिन काम नलाग्ने अवस्थामा रहेको यसअघिको अध्ययनले देखाएको थियो ।

प्रधानमन्त्रीको पनि चासो

यो उद्योग सञ्चालनमा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासो दिएका छन् । उनले केही समयअघि प्रदेशसभा ३ को बैठकलाई संबोधन गर्दै उनले नयाँ मेसिन ल्याएर कपडा उद्योग चलाउने बताएका थिए ।

‘हेटौंडा कपडा उद्योग चलाइन्छ, त्यसका लागि नयाँ मेसिन ल्याइन्छ’ उनले भनेका थिए ‘यसमा प्राइभेट सेक्टर ‘निजी क्षेत्र’ पनि ल्याइन्छ ।’

उनले कपडा उद्योग सरकारले मात्र चलाउँदा त्यसले प्रतिफल नदिने बताएका थिए । ‘सरकारी मात्र भयो भने घाँस हाल्ने कोही हुँदैन दूध खाने मात्र हुन्छ’ उनले भनेका थिए ।

 

तपाईको प्रतिक्रिया