fbpx

राष्ट्रिय गौरवका आयोजनाको अनुगमन शुरु


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ठूला आयोजनाको अनुगमनको पनि अनुगमन गर्न शुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका ठूला आयोजनाको अनुगमनमाथि पनि अनुगमन शुरु गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए ।

मन्त्री तथा सचिवले पेश गरेको आव २०७५÷७६ को मन्त्रालयगत कार्ययोजनाको कार्यान्वयनको अनुगमनमाथि पनि अनुगमन शुरु गर्ने योजनाअनुसार नै प्रधानमन्त्रीले राष्ट्रिय आयोजनाको अनुगमन गरेको प्रवक्ता कुँवरले जानकारी दिए ।

प्रत्येक मन्त्रालयमा पनि आ–आफ्ना अनुगमन संयन्त्र रहेपनि त्यसले मात्र पर्याप्त अनुगमन नहुने भएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अनुगमन गर्न शुरु गरेको जनाइएको छ ।

उनले कार्यालयबाट उपत्यकाको फोहर उठाउनसमेत निर्देशन दिइएको बताए । यसैगरी सडकका खाल्डाखुल्डी पुर्न, जोरपाटी सडकखण्ड मर्मत गर्न, अत्यधिक रुपमा बढेको वस्तुको मूल्य नियन्त्रण गर्नसमेत प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उनले बताए ।

प्रवक्ता कुँवरले प्रत्येक १५ दिनमा मन्त्रालयको कार्यविवरण प्रधानमन्त्री कार्यालयमा समेत पठाउने निर्देशन दिएको जानकारी गराए ।

तपाईको प्रतिक्रिया