fbpx

तोकिएको समयमा नै मेलम्ची आयोजना सक्न सरकारलाई निर्देशन



नेपालबहस संवाददाता
 




काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको मंगलबार सिंहदबारमा बसेको बैठकले मेलम्ची खानेपानी आयोजनाको काम निर्धारित समयमै सम्पन्न गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको हो ।

खानेपानी मन्त्री बिना मगरलाई बैठकमा बोलाएर समितिले मेलम्ची खानेपानी आयोजनाको काममा ढिलाई गर्ने निकायलाई कडा कारबाही गर्न सरकारलाई सचेत गराएको छ । निर्धारित समय भित्रै मेलम्ची खानेपानी आयोजनाको काम सकाउन सरकारलाई निर्देशन दिइएको समितिका जेष्ठ सदस्य जीपछिरिङ लामाले बताए ।

समितिले शुद्ध पीउने पानीको व्यवस्था गर्न ढिलाई नगर्न पनि सरकारलाई सचेत गराएको छ । बैठकमा खानेपानी मन्त्री मगरले तोकिएकै मितिमा आयोजनाको काम सम्पन्न गर्न प्राविधिक जटिलता रहेको बताइन ।

मेलम्ची खानेपानीको कामलाई सरकारले इमान्दारिताका साथ तोकिएकै समयमा सम्पन्न गर्ने कोसिस गरेपनि विगतमा गरिएका कतिपय सम्झौताले अप्ठयारोमा पारिरहेकोसमितिलाई जानकारी दिइन । मन्त्री मगरले सन् २०३० भित्र सबै नागरिकलाई शुद्ध खानेपानीको व्यवस्था गर्न बजेटको अभाव रहेको पनि समिति समक्ष स्पष्ट पारिन् ।

सरकारले चालू आर्थिक वर्षका लागि ३४ अर्ब बजेट खानेपानी मन्त्रालयका लागि विनियोजन गरेको छ । मन्त्री मगरले वार्षिक एक खर्ब बजेटको व्यवस्था गरे मात्रै सन् २०३० भित्र सबै नागरिकलाई शुद्ध पीउने पानीको व्यवस्था गर्न सकिने मन्त्रालयको अध्ययनले देखाएको जानकारी दिइन ।

बैठकमा समितिका सदस्यहरुले काठमाडौंको धारामा आउने पानी गुणस्तरहीन भएको उल्लेख गर्दै सरकारको आलोचना गरेका थिए । उनीहरुले उपत्यकामा ढल समस्या समाधानका लागि उचित व्यवस्था गर्न पनि मन्त्री मगरको गम्भीर ध्यानाकर्षण गराएका थिए ।