विमस्टेक सम्मेलनमै खोजिदैछ पश्चिम सेती निर्माणको लगानी !


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ, । पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका विषयमा सहमति खोज्न लगानी बोर्ड र चिनियाँ कम्पनी थ्री गर्जेजको सहायक कम्पनी सीडब्ल्यू इन्भेस्टमेन्टका अधिकारीबीच वार्ता शुरु भएको छ ।

कूल ७५० मेगावाट क्षमताको सो आयोजना निर्माणका विषयमा समझदारी भएको लामो समय भए पनि प्रक्रिया अगाडि बढ्न नसक्दा अन्योलता बढेको थियो । द्विपक्षीय वार्ताका लागि चिनियाँ अधिकारी सोमबार काठमाडौँ आएका थिए ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले छलफल शुरु भएको संक्षिप्त प्रतिक्रिया दिए । नेपाली अधिकारी र चिनियाँ कम्पनीबीच पटकपटक छलफल भए पनि सहमति हुन सकेको छैन ।

६ वर्षपहिले अर्थात् सन् २०१२ मा तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारले सो आयोजना निर्माणका लागि चिनियाँ कम्पनी थ्री गर्जेजसँग समझदारी गरेको थियो ।

समझदारीअनुसार ७५ प्रतिशत लगानी चिनियाँ कम्पनीको र २५ प्रतिशत लगानी नेपाल विद्युत् प्राधिकरणको रहने व्यवस्था छ । संयुक्त कम्पनी स्थापना गर्ने विषयमा गत वर्ष सहमति भए पनि कार्यान्वयन हुन सकेको छैन ।

दुई पक्षबीच भएको सहमतिलाई बोर्ड र प्राधिकरणले अनुमोदन गरेको छ । बोर्डको केही समयपहिले बसेको बैठकले आयोजनाको सम्बन्धमा चिनियाँ कम्पनीसँग वार्ता गर्ने निर्णय गरेको थियो ।

बोर्डको आग्रहमा चिनियाँ कम्पनीका अधिकारी राजधानी आएका हुन् । उनीहरुसँग बुधबार पनि द्विपक्षीय छलफल हुनेछ । चिनियाँ कम्प्नीले विद्युत् खरीद मूल्य र क्षमताका विषयमा प्रश्न उठाउँदै आएको बुझिएको छ ।

वार्तामा बोर्ड र चिनियाँ कम्पनीका अधिकारी सहभागी छन् । बुधबार आयोजनाका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्राधिकरणको उच्च नेतृत्वसँग पनि छलफल हुनेछ । काठमाडौमै विमस्टेक सम्मेलन शुरु हुन लागेका बेला पश्चिम सेतीका लागि चिनिया कम्पनीले लगानी गर्ने कसरत शुरु गरेको हो ।

तपाईको प्रतिक्रिया
Road Show Real State