fbpx

रसुवागढी नाका हुँदै २ सय भेडा–च्याङ्ग्रा आइपुगे


Share This

नेपालबहस संवाददाता    

रसुवा । दसैं, तिहार जस्ता चाड नजिकिएसँगै शनिबारदेखि रसुवागढी नाका हुँदै भेडा–च्याङग्रा आयात सुरु भएको छ । नेपाल र चीनबीच संचालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढीबाट भेडा–च्याङग्रा आयात सुरु भएको हो।

चीनको तिब्बतबाट ल्याइएका करीब २ सय भेडा–च्याङ्ग्रा आज रसुवागढी नाका हुँदै नेपाल भित्रिएको व्यापारी दिवाकर न्यौपानेले बताए।गत वर्ष ५५ वटा मात्र भेडा–च्याङग्रा नेपाल भित्रिएको यो नाकाबाट यस वर्ष बढी आयात हुने अनुमान गरिएको छ।

प्रति भेडा २३ हजारदेखि २६ हजारसम्म मूल्य पर्ने जानकारी दिँदै उनले भने, ‘यसअघि मुस्ताङबाट ल्याइने गरेकोमा यसपटक यो नाकाबाट आयात गरिनेछ’। नेपाल भित्रिएका भेडा–च्याङग्राको भन्सार आइतबार मात्रै हुनेछ।

२०७० सालमा २ सय २ वटा, २०७१ सालमा १ सय ८०, २०७३ सालमा २ सय ५० वटा र २०७४ सालमा ५५ वटा भेँडा च्याङ्ग्रा रसुवागढी नाका हुदै नेपाल आयात भएको थियो।

२०७० सालअघि यो नाकाबाट पाँच हजारदेखि १० हजारसम्म भेडाच्याङ्ग्रा आयात हुने गरेको व्यापारीहरुले बताएका छन्। दसैँलक्षित गरी बजारमा बिक्री–वितरणका लागि ल्याइएका भेडा–च्याङ्ग्राको मूल्य बढेपछि सर्वसाधारण मर्कामा परेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार