fbpx

३ लाख घरकाे पुनर्निर्माण सम्पन्न


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि सम्पन्न घरहरुको संख्या तीन लाख नाघेको छ । आइतबार पुनर्निर्माण प्राधिकरणले दिएको जानकारी अनुसार निजी आवास पुनर्निर्माणको तथ्यांकअनुसार पुनर्निर्माण सुरु भएका ५ लाख ५७ हजार ४ सय १० घरमध्ये ३ लाख ५ हजार ८ सय ८३ घरको पुनर्निर्माण सम्पन्न भएको छ ।

आफ्नो सामाजिक सञ्जाल ट्विटर मार्फत २ लाख ५१ हजार ५ सय २७ घरहरु पुनर्निर्माण भइरहेको पनि पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।

एकीकृत बस्तीको प्रारम्भिक योजना स्वीकृत

यसैबिच, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चारवटा एकीकृत बस्ती विकासका प्रारम्भिक योजनाहरु स्वीकृत गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले ओखलढुङ्गा जिल्लाको मलेखु गाउँपालिका वडा न‌ं ३ फुयाल गाउँस्थित फुयाल गाउँ एकीकृत नमूना बस्ती, सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा न‌ं १४ झ्याडीटोलस्थित माझी बस्तीमा श्वेता श्री फाउण्डेसनको सहयोगमा बन्ने झ्याडीटोल एकीकृत माझी बस्तीको प्रराम्भिक योजनालाई स्वीकृत गरेको हो ।

यस्तै बैठकले सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं १२ गिरान्चौरस्थित सामुदायिक पुनर्निर्माण पर्यटन प्रवर्द्धन परियोजना र काठमाडौं जिल्ला शंखरापुर नगरपालिका वडा नं‍ ७ पुखुलाछिस्थित सिर्जनशील एकीकृत बस्ती विकासको प्रारम्भिक योजनालाई स्वीकृत गरेको छ ।

फुयालगाउँ एकीकृत नमूना बस्तीमा १२ घरधुरी, झ्याडीटोल एकीकृत बस्तीमा ५६ घरधुरी, गिरान्चौरस्थित सामुदायिक पुनर्निर्माण पर्यटन प्रवर्द्धन परियोजनामा १३५ घरधुरी र सिर्जनशिल एकीकृत बस्ती विकासमा १६ वटा घरधुरी हुनेछन् ।

तपाईको प्रतिक्रिया