fbpx

अब जापानले नेपालबाट १४ वटा क्षेत्रमा दक्ष जनशक्ति लैजाने



नेपालबहस संवाददाता
 




काठमाडौं । नेपाली कामदार लैजाने विषयमा जापान र नेपालबीच श्रम सम्झौता भएको छ । सोमबार ललितपुरमा एक कार्यक्रमबीच दुईदेशबीच ‘सहकार्यको समझदारी’ (एमओसी)मा हस्ताक्षर भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा सम्झौतापत्रमा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र जापानका तर्फबाट नेपालका लागि जापानी राजदूत मासामिची साइगोले हस्ताक्षर गरे ।

जापानले पहिलोपटक ‘श्रम भिसा’ मा सोझै नेपालबाट कामदार लैजाने भएपछि दुई देशबीच समझदारीमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार जापानले नेपालबाट १४ वटा क्षेत्रमा दक्ष जनशक्ति लैजाने छ ।

जापानले आउँदो अप्रिल १ देखि नेपालसहित ९ देशबाट विदेशी कामदार लैजाने निर्णय गरेको छ । समझदारीअनुसार दुई देशका सरकारी संयन्त्रको समन्वयमा कामदार भर्ना हुनेछन् ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बिष्टले जापान नेपाली श्रमिकका लागि आकर्षक र रुचीपूर्ण गन्तब्य भएको भन्दैं समझदारीका लागि तयार भएकोमा जापान सरकारलाई धन्यवादज्ञापन गरे ।

त्यस्तै उहाले जापानमा नेपाली कामदारले आफ्नो दक्षता हासिल गर्ने दाबी गर्दे सम्झौता कार्यान्वयनमा सरकार गम्भीर भएर लाग्ने बताए ।नेपालको बिकासको अभियान र रेमिट्यान्सको अभिवृद्धिमा पनि सम्झौताले भूमिका खेल्ने बताए ।

सम्झौता अनुसार श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागअन्तर्गत एउटा शाखा स्थापना गर्नेछ । त्यही शाखाले जापानी रोजगारदाताले माग गरेअनुसारका कामदार पठाउन सहजीकरण गर्नेछ ।

५ वर्षभित्र ३ लाख ४२ हजार दक्ष–अदक्ष विदेशी श्रमिकलाई रोजगारी दिने जापानी नीति छ । कुन–कुन देशबाट कति कामदार लैजाने भन्ने निर्णय जापानले बाहिर ल्याइसकेको छैन ।

कामदार कम हुँदै गएपछि जापानले विदेशी कामदार ल्याउने नीति लिएको हो । उसले कृषि, उत्पादन र केयरगिभरका क्षेत्रमा रोजगारी दिने जनाएको छ ।


सम्बन्धित समाचार