fbpx

लगानी सम्मेलनको तयारी पूरा, छ सयभन्दा बढी लगानीकर्ता सहभागी हुने



नेपालबहस संवाददाता
 




काठमाडौं । सरकारले आगामी चैत १५ र १६ गते काठमाडौंमा सम्पन्न हुन गईरहेको लगानी सम्मेलनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

अर्थमन्त्रालयले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दे सम्मेलनमा विभिन्न ४० मुलुकका उच्च स्तरीय प्रतिनिधिमण्डल लगायत ६ सय भन्दा बढी विदेशी लगानीकर्ताहरुको उपस्थिति रहने र सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

त्यसैगरी, सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपाल स्थिति विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजीक्षेत्र, गैह्–आवसीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता रहने अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए ।

उक्त दुई दिने सम्मेलनमा नेपाल सरकार लगानी बोर्डले कृषि, जलविद्युत, उद्योग, पर्यटन , यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गर्र्नेछ ।

त्यसैगरि सम्मेलनमा करिब १२ वटा विभिन्न समझदारीपत्र तथा सम्झौतामा हस्ताक्षर गरिने तयारी भएको मन्त्री खतिवडाले बताए । खतिवडाले सरकारका लागि स्वदेशी र विदेशी लगानीकर्ता बराबर भएको पनि बताए ।

उनले नेपालमा विदेशी लगानी भित्र्याउने सवालमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन(फिटा) ल्याइएको र स्वदेशी लगानीकर्ताका लागि समेत सार्वजनिक औद्योगिक व्यवसाय ऐन ल्याउन लागिएको उल्लेख गरे ।

पत्रकार सम्मेलनमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्मेलनको तयारी पूरा भएको र सम्मेलनमा प्रस्तुत गरिने परियोजना तयार भइसकेको बताए ।

नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले स्थिर सरकारसँगै श्रम र उर्जा समस्या हल भइसकेकाले लगानीको वातावरण बनेको जिकिर गरे । उनले समृद्धिलाई सरकारले लक्ष्य बनाएको भन्दै यसलाई सहयोग गर्न निजी क्षेत्र तयार रहेको बताए ।

दुई दिने सम्मेलनको पहिलो दिन नेपाल सरकारको तर्फबाट लगानीको अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारहरुबारे प्रस्तुतिकरण , नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरुको अनुभव, अन्तराष्ट्रिय लगानीकर्ताहरुको लगानी सम्बन्धी अनुभव सहित सातटा विषयगत सत्रहरु संचालन हुने मन्त्रालयले जनाएको छ ।

त्यसैगरी सम्मेलनको अन्तिम दिन दुईवटा क्षेत्रगत र तीनवटा प्लेनरी सत्रहरु संचालन हुनेछन् । सम्मेलन सफल रुपमा आयोजना गर्न अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष डा. खतिवडाको संयोजकत्वमा निर्देशक समिति गठन भएको छ ।


सम्बन्धित समाचार