लगानी सम्मेलन समापन : ऊर्जासहित विभिन्न क्षेत्रमा लगानीका लागि समझदारी



नेपालबहस संवाददाता
 




काठमाडौं । विभिन्न क्षेत्रमा लगानीको लागि १५ वटा समझदारी पत्रमा हस्ताक्षरसहित काठमाडौमा दुईदिने लगानी सम्मेलन सम्पन्न भएको छ । शनिबार सम्मेलनको समापन समारोहमा ऊर्जासहित विभिन्न क्षेत्रमा लगानीका लागि समझदारी भएको हो ।

चौधरी ग्रुपले मात्रै सोलार प्लान स्थापना, फाइभी विस्तार र जलविद्युत आयोजनाको लागि फरक फरक निकायसँग तीन वटा सम्झौता गरेको छ । त्यस्तै माथिल्लो त्रिशूली आयोजनामा कोरियाली कम्पनीले ६५० मिलियन डलर लगानी गर्ने समझदारी गरेको छ ।

अरुण तेस्रोलाई लगानी गर्न स्टेट बैंक अफ इण्डिया(एसबीआई) बैंक, नविल बैंक र एभरेस्ट बैंकले समझदारी गरेका छन् । हाइड्रो सोलुसनले चिनियाँ कम्पनीसँस १६४ मेगावाटको कालीगण्डकी गर्ज निर्माण गर्न समझदारी गरेको छ ।

बाराको सिमरामा विशेष आर्थिक क्षेत्र सेज विकासको लागि लगानी बोर्ड, आइएफसी र सेज प्राधिकरणबीच समझदारी भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपालका पूर्वाधार विकासमा सरकारसँग मिलेर १० अर्ब भन्दा बढीका परियोजनामा यसैवर्ष लगानी गर्ने सम्झौता पनि भएको छ ।

सम्झौता कार्यक्रमलाइ सम्बोधन गर्दे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न कुनै समस्या नरहेको बताए । सरकारले लगानीकर्तालाई उच्च प्रतिफल हुने गरी कानूनी तथा नीतिगत सुधार गरेर सकारात्मक वातावरण सिर्जना गरेको उनले बताए ।

त्यस्तै सम्मेलनको समापन गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपाललाई आकर्षक लगानी गन्तब्यका रुपमा प्रस्तुत गर्न सफल भएको बताए । नेपालमा आउने लगानीकर्तालाई राम्रो र व्यवसायिक सहजिकरण सरकारले गरिदिने उनले बताए ।

दुई दिने लगानी सम्मेलनमा क्रममा सरकारले प्रस्तुत गरेको ७७ मध्ये १६ परियोजनाका लागि विदेशी लगानीकर्ताले आवेदन दिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले जानकारी दिए । सम्मेलनमा सरकारको तर्फबाट ५० र निजी क्षेत्रका २७ गरी ७७ परियोजना शो केसमा राखिएको थियो । यसमा आवेदन दिने समय २० अप्रिलसम्म छ ।


सम्बन्धित समाचार