बिना पुर्जि प्रदेश नं ७ का दार्चुला र बझाङमा यार्सा संकलनका लागि जाने क्रम शुरु


Share This

नेपालबहस संवाददाता    

भीमदत्तनगर,२४ बैशाख । विगत झैँ यस वर्ष पनि प्रदेश नं ७ का दार्चुला र बझाङमा यार्सा संकलनका लागि जाने क्रम शुरु भएको छ । दार्चुलाको अपि नाम्पा संरक्षण क्षेत्रको कार्यालयले आगामी जेठको दोस्रो सातादेखि यार्सा पाइने अपिनाम्पाको उच्च हिमाली भेगमा जानका लागि संकलन पूर्जी दिने तयारी गरेको छ ।

यहाँको उच्च हिमाली भेगमा यार्सा संकलक गएर बसोबास र खाद्यान्नको व्यवस्थापनमा जुटिसकेको अपि नाम्पा संरक्षण क्षेत्रको कार्यालयका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए । दार्चुलाको उच्च हिमाली भेग घुसा, खण्डेश्वरी, सित्तोला, गुल्जर, व्यास र राप्लाको उच्च हिमाली भेगमा यार्सागुम्बा संकलन गरिन्छ ।

संकलित यार्सा खरिदका लागि सुदूर पूर्वको झापादेखि काठमाडौँ, विराटनगरदेखि जुम्लासम्मका यार्सा व्यापारी दार्चुला र बझाङ पुग्ने गरेका छन् । संकलकबाट यार्सा व्यापारीले रु १२ लाखदेखि रु १५ लाख प्रतिकिलोमा खरिद गर्छन् भने रु २०–२२ लाख प्रतिकिलोका दरले बिक्री वितरण गर्ने गरेका छन् । गत वर्ष दार्चुलामा साढे सात क्विन्टल यार्सा संकलन भएको अपि नाम्पा संरक्षण क्षेत्रको कार्यालयले जनाएको छ ।

त्यसैगरी यार्सा पाइने अर्को पहाडी जिल्ला बझाङमा पनि यार्सा संकलक स्थानीयवासी उच्च हिमाली भेग पुगिसकेका छन् । यार्सा संकलनका लागि संकलन पूर्जी दिने जिल्ला वन कार्यालय बझाङको तयारी रहे पनि संकलकहरु पूर्जी लिन नआएको निमित्त वन अधिकृत कर्णबहादुर खत्रीले बताए ।

यार्सागुम्बा व्यवस्थापन, २०७३ निर्देशिका अनुसार अपिनाम्पा संरक्षणमा जेठको दोस्रो साताबाट यार्सागुम्बा  संकलन शुरु हुने भएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State