८ लाखको लगानीमा डिप बोरिङ संचालन, स्थानीय कृषकलाई राहत


Share This


नेपालबहस संवाददाता    90 Views

सुर्खेत । चौकुने गाँउपालिकाले ८ लाखको लगानीमा वडा नं- ३ को वेतानस्थित सोभानचौरमा डिप बोरिङ सञ्चालनमा ल्याएको छ । नजिकै कर्णाली बगेको देखिने तर सिंचाइमा प्रयोग गर्न नसकिएको उक्त क्षेत्रमा गाउँपालिकाले बोरिङ निर्माण गरेपछि वडा नं- ५ को मायाताल र वडा नं-९ र १० मा पनि पानी निकालिएको अध्यक्ष धिरबहादुर शाहीले बताए ।

आगामी आर्थिक वर्षमा चौकुने गाउँपालिकाले कृषि क्षेत्रमा थप लागनी गर्ने उनको प्रतिबद्धता थियो । एक सय घरधुरी रहेको सोभानचौरमा सिंचाईका लागि पर्याप्त पानी आएपछि केशर नाम्लाली हर्षित देखिएका हुन् ।

उनले अब आफूहरू तरकारी खेति गर्ने र व्यवासायिक कृषकको रुपमा अघि बढाउने बताए । गाँउपालिकाले कर्णालीको पानीलाई डिप बोरिङ गर्दै किसानको खेतमा पानी ल्याएको र आगामी दिनमा उक्त बोरिंगको हेरचाह गर्दै सोभानचौरलाई विशेष गाउँ बनाउन पहल गर्ने उनले प्रतिबद्धता जनाए ।

स्थानीय रामकुमारी दर्लामीले बोरिंगबाट सिंचाइकालागि पानी ल्याएपछि अब यहाँको गरिबी हटाउन मद्दत पुग्ने दाबी गरिन् । उनले आगामी दिनमा गाउँपालिकाले तरकारी खेतिका लागि आवश्यक तालिम तथा अन्य सहयोग गरेको खण्डमा सोभानचौरलाई नमूना गाउँ बनाउन सकिने बताइन् ।

सोभानचौरमा उक्त डिप बोरिङ एक सय मिटर गहिरो गाडिएको छ भने बोरिङबाट ३ इन्च पानी निरन्तर आउने बोरिङ सञ्चालन गर्न जेनेरेटर राखिएको छ ।

तपाईको प्रतिक्रिया