भदौसम्म सुधार नभए कालिमाटी बजार नै हटाइदिने चेतावनी


Share This


नेपालबहस संवाददाता    53 Views

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले भदौसम्म पनि कुनै सुधार नगरे कालिमाटी बजार नै हटाइदिने चेतावनी दिएका छन्।

आफू स्थलगत अनुगमनमा जाँदा कालिमाटी बजारमा रहेका ९९ वटा स्टलहरू सुधार गर्न जरुरी रहेको पाइएको बताउँदै उनले आफूले भदौसम्म सुध्रने मौका दिएको स्पष्ट पारेका छन्।

मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री खनालले भने,‘भदौसम्म पनि कुनै सुधार भएन भने हामी आवश्यक परे कालिमाटी बजार नै बन्द गराउन बाध्य हुन्छौं, सुधारको लागि हदैसम्मको समय दिइएको छ, त्यति गर्दा पनि कुनै सुधार भएन भने बजार हटाइन्छ।’

उनले कालिमाटी फलफूल तथा तरकारी बजारस्थलमा रहेका स्टलहरू समितिले निर्धारण गरेको मूल्यभन्दा दशौं गुणा बढी लिइएको भेटिएकोले आफूले स्थलगत अनुगमन गरेर निर्देशन दिएको सुनाए।

उनले भने,‘समितिसँग दश हजारमा स्टलहरू लिएर ति व्यक्तिहरूले उक्त स्टलहरू आफूले नचलाइकन दशौं गुणा बढी पैसा लिएर अरुलाई चलाउन दिइएको भेटियो, दश हजार पर्ने स्टल एक लाख दश हजारसम्म लिएको भेटियो, यो हदैसम्मको लापरवाही हो, समितिसँग जसले स्टल लिएको हो, उसैले सञ्चालन गर्नुपर्छ, यसको लागि मैले कडाभन्दा कडा निर्देशन दिएको छु।’

कतिपय स्टलहरूमा उपभोग नै गर्न नमिल्ने कुहिएका र सडेगलेका माछामासु लगायतका वस्तुहरू समेत राखिएको उनको गुनासो छ।

मन्त्री खनालले किसानहरूले आफूले उत्पादन गरेका वस्तुहरू सिधै उपभोक्ताहरूसमक्ष पुर्याउने वातावरण बनाउने पनि विश्वास दिलाए। उनले भने,‘अहिले त धेरै लेयरहरु देखिएका छन्, ती सबै तोड्न जरुरी छ, ताजा वस्तु, सही समयमा त्यो पनि उचित मूल्यमा उपभोक्ताहरुले पाउने वातावरण बनाउँछु।’

खनालले दूध र पानीमा कोलिफर्म र सोडा भेटिएको उल्लेख गर्दै भने,‘काठमाडौंमा हामीले विभिन्न ४२ वटा दूधका नमूना संकलन गरेर परीक्षण गर्दा झण्डै ४० वटा नमूनामा कुनै न कुनै मात्रामा सोडा पाइएको छ, तर धेरैजस्तो दूधमा दूध नफाटोस् भनेरमात्रै सोडा प्रयोग गरेको पाइयो, अब त्यसो पनि गर्नुभएन, उपभोक्ताले स्वच्छ दूध पिउन पाउनुपर्छ।’

तपाईको प्रतिक्रिया