दैनिकी तरकारी बेचेर परिवार पाल्दै बित्यो ललिताको ४० बर्ष


Share This


नेपालबहस संवाददाता    

चितवन । सात दशक उमेर पार गरेकी ललिता सापकोटाको दैनिकी साइकलमा तरकारी बिक्री गरेर बित्ने गर्छ । भरतपुर महानगरपालिकाको त्रिचोक निवासी ७१ वर्षीया सापकोटाले त्यही व्यापारबाट परिवार पाल्दै आएकी छिन् । उनले तरकारी बिक्री गर्न थालेको ४० वर्ष बित्यो ।

पुरानो साइकलमा अगाडि टोकरी र पछाडि क्रेट छ । तिनैमा तरकारी राखेर घरघर पुगेर तरकारी बिक्री गर्छिन् ।बिहान साढे दिन ४ बजे उठेर दुई किलोमिटर टाढाको नारायणगढ तरकारीमण्डीमा पुग्छिन । त्यहाँ थोकमा तरकारी खरीद गरेर भरतपुरमा बिक्री गछिन् । शुरुमा आठ÷दश किलोमिटर टाढासम्म साइकलमा तरकारी बिक्री गर्ने गरेपनि अहिले भरतपुरको मुख्य बसोबास क्षेत्रमा नै तरकारी खपत हुने गरेको सापकोटाले बताइन् ।

बिहान ९ बजेसम्म प्रायः तरकारी बिक्री भइसक्छ । त्यसपछि घर पुगेर पुनः घरधन्दा आफैँ गर्छिन। सापकोटाले भने “पहिले यहाँ पातला घर थिए, धेरै टाढा टाढासम्म बिक्री गर्न पुग्थेँ । अहिले बूढो भए, नजिकै बिक्री गर्छु ।” नाफा कम राख्ने हुँदा उनका नियमित ग्राहक छन् ।

घरमा ७८ वर्षका श्रीमान छन् । तीन छोरी र एक छोराकी आमा सापकोटोको आफ्नै व्यथा छ । सङ्कटकालमा भारत गएको छोरा अहिलेसम्म फर्किएको छैन । तीन छोरीको विवाह गरेर दिए ।

सापकोटाले भने “ रोजगारका लागी मलेशिया गएका ज्वाइँ ठेगाना छैन, छोरीका आमाछोरा पनि मैले नै पाल्नुपरेको छ ।” आफूसँगै श्रीमान्लाई पालेर चार छोराछोरी पढाउने हुर्काउने गरेको बताउँदै उनले यही कमाइबाट सानो घरसमेत जोडेको जानकारी दिइन् ।

बागलुङबाट बसाइँसराइ आउनुभएकी सापकोटाले पहिलेदेखि नै आफ्ना श्रीमान्को कुनै कमाइ नभएकाले आफैँले नियमित तरकारी बेच्दै आएको बताइन । अरुसँग मागेर खानेभन्दा आफैँले केही गरेर खानु राम्रो देखेर नै दुःख गरिरहेको सुनाइन । सापकोटाले भने । “गर्ने अरु छैनन्, नगरी खानु छैन । बूढो भए पनि काम त गर्नै प¥यो ।”

तपाईको प्रतिक्रिया