fbpx

दाङलाई तोरीमा आत्मनिर्भर बनाउने योजना


Share This

नेपालबहस संवाददाता    

घोराही । कृषि विकास कार्यालयले दाङ जिल्लाको पश्चिम क्षेत्रलाई तोरी क्षेत्रका रुपमा अगाडि सार्ने योजना बनाएको छ । कार्यालयले जिल्लामा तेलहन पदार्थको आयात घटाउन तथा स्थानीयवासीलाई आत्मनिर्भर बनाउन उक्त कार्यक्रम अगाडि बढाइएको हो ।

पश्चिम दाङको खेतीयोग्य जमीनलाई तोरी क्षेत्रका रुपमा स्थापित गर्नसके जिल्ला तेलहनमा आत्मनिर्भर हुने देखिन्छ । जिल्ला कृषि विकास कार्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पश्चिम दाङका शान्तिनगर, बबइ र दङ्गीशरण गाउँपालिकालाई तोरी क्षेत्रका रुपमा विस्तार गर्न लागेको हो ।

कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दीपककुमार शर्माले पश्चिम दाङका तीनवटै गाउँपालिकाका वडा तोरीका लागि उर्बर मानिन्छन् ।परम्परागतरुपमा हँुदै आएको तोरी उत्पादनलाई आधुनिकीकरण गरी उत्पादन क्षमतालाई वृद्धि गरी जिल्लालाई तोरीमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको शर्माले बताए ।

विभिन्न कृषि समूह, सहकारी एवं स्थानीय कृषकको सूची तयार गरी सोहीअनुरुप बीउ वितरण गरिने कार्यालयले जनाएको छ । सामान्यतया कुनै क्षेत्रलाई क्षेत्रका रुपमा विस्तार गर्न थालेपछि त्यस क्षेत्रमा सडकको पहुँच, सिँचाइको उपलब्धता, तोकिएको क्षेत्र एउटै कोरिडोरमा रहेको, वित्तीय संस्थाको पहँुच तथा बजारको उपलब्धता भएको हुनुपर्छ । सोहीअनुरुप सिँचाइ मन्त्रालय, सडक विभाग, स्थानीय बजार, कृषक, स्थानीय निकाय सबैसँग समन्वय गरी अगाडि बढ्ने शर्माको भनाइ छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अनुगमन योजना अधिकृत गोविन्दप्रसाद शर्माले तोरी क्षेत्र विस्तारका लागि सरकारले फरकफरक खालका उन्नत जातका तोरीका बीउ वितरण गर्दै आएको बताए । सरकारको १० वर्षभित्र दाङलाई तोरीमा आत्मनिर्भर बनाउने योजना छ ।

दङ्गीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरी खेतीयोग्य जमीन खण्डीकरण भइरहेका कारण तोरी क्षेत्रलाई बाधा पुगेको बताउछन् । सिँचाइको सुविधा भएका सबै खेतबारी धमाधम खण्डीकरण भइरहेको छ । बबइ गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल अहिले कृषि उत्पादन बिक्री वितरणमा विचौलियाको बिगबिगी भएको बताउछन् ।

तपाईको प्रतिक्रिया