अन्नपूर्ण एग्रोमा उत्पादित दाना कमसल र गुणस्तरहीन भएपछि मुद्दा दायर


Share This

नेपालबहस संवाददाता    

भैरहवा । अन्नपूर्ण एग्रो इन्डस्ट्रिज प्रालि रुपन्देहीबाट उत्पादित दाना गुणस्तरहीन भएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मुद्दा दायर गरिएको छ ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको टोलीले निरीक्षण गर्दा उक्त एग्रोमा उत्पादित दाना कमसल र गुणस्तरहीन पाइएको हो । एग्रोले बोइलर, कोइलर र लेयर्स कुखुराको दाना उत्पादन गर्ने गर्दछ । उत्पादित दाना मापदण्डभन्दा कमसल भएपछि कारबाहीका लागि मुद्दा दायर गरिएको क्षेत्रीय कार्यालय भैरहवाले जानकारी दिएको छ ।

यस एग्रोले अन्नपूर्ण प्लेट फिड, कोपिला प्लेट फिड र उर्बार प्लेट फिड ब्राण्डका दाना उत्पादन गर्दछ । उद्योगमा उत्पादन भएका दाना काठमाडौँ, पोखरा, चितवन, हेटौँडा, रुपन्देहीलगायतका जिल्लामा जाने गरेको छ ।

देशका विभिन्न स्थानमा पुग्ने यसका उत्पादनमा गुणस्तरहीन देखिएपछि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले छापा मारी गुणस्तरमा अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

नेपालको कानूनमा न्यूनस्तरको खाद्य पदार्थ उत्पादन, बिक्री वितरण गर्ने व्यक्तिलाई खाद्य ऐन २०२३ को दफा ५ को उपदफा १ बमोजिम नगद जरिवानाका साथै एक वर्षसम्मको कैदको व्यवस्था गरेको छ भने यसै कसूरमा कालोबजारी ऐनअनुसार दुई वर्षसम्मको कैद हुने प्रावधान रहेको छ ।

आर्थिक वर्ष २०७४÷७५ को वैशाखसम्म क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले १० वटा उद्योगलाई गुणस्तरहीन र लेबल बिनाको पाएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा मुद्दा दायर गरेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State