स्थानीय बासिन्दा पोकापन्तरा बोकेर यार्सा संकलन गर्न लेकतिर


Share This

नेपालबहस संवाददाता    

बझाङ । सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले यार्सा संकलन गर्न खुला गरेपछि स्थानीयबासिन्दा खुशी भएका छन भने यार्सागुम्बा संकलन गर्ने क्रममा जिल्लाका दर्जनौ विद्यालय बन्द भएका छन् ।

यार्सा संकलन गर्दा सबैजसो घरबाट बालकदेखि हिडडुल गर्नसक्ने वृद्धसम्म यार्सा संकलन गर्न जाँदा विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेका दौलीचौरमा विकास व्यवस्थापन समिति अध्यक्ष कलक बोहराले बताए ।

यार्सा संकलन गर्ने वन धनसेरीमा यार्सा नपाएपछि वैशाख मसान्तसम्मका लागि यार्सा संकलनमा समितिले रोक लगाएको थियो । उक्त लगाइएको रोक आइतबारदेखि खुला भएपछि स्थानीय बासिन्दा फेरि पोकापन्तरा बोकेर यार्सा संकलन गर्न लेकतर्फ लागेका छन् ।

यस क्षेत्रमा यार्सा संकलन गर्नका लागि सुर्मा गाउँपालिकाका साथै जिल्लाभरिका स्थानीय बासिन्दा यार्सा संकलनमा गर्न जाने गर्दछन् ।ग्रामीण बस्तीका स्थानीयकै आम्दानीको मुख्य स्रोत भनेको नै हिमालमा पाउने बहुमूल्य जडीबुटी र यार्सा गुम्बा नै हो । विगतका दिनभन्दा अहिले केही कम मात्रामा यार्सागुम्बा पाइने भएपछि  स्थानीय चिन्तित भएका छन् ।

विगतका दिनमा यार्सागुम्बा प्रशस्त मात्रामा पाइने भएपछि भेडापालन व्यवसायी हटाएर एकै जडीबुटी यार्सागुम्बाको भरमा बसेको तर अहिले एकदमै कम मात्रामा र यसको बिक्री मूल्य पनि पहिलेको भन्दा कम पाइने भएपछि यार्सागुम्बाकै भरमा जीविका चलाउने बासिन्दा साहै्र मारमा परेका साइपाल गाउँपालिकाका स्थानीयवासी रामबहादुर बोहराले बताए ।

यार्सागुम्बा संकलन गर्न जिल्लाका विभिन्न ठाउँबाट संकलन गर्न जाने गर्दैछन् र यो यार्सागुम्बा संकलन समयभित्र सुर्मा गाउँपालिका, तल्कोट गाउँपालिका, साइपाल गाउँपालिका र बुंगल नगरपालिकाका अधिकांश विद्यालय तीन महिनाका लागि बन्द हुने गरेका छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State