१३औं नाडा अटो–शो सुरू, ६ दिनसम्म चल्ने


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । यस वर्षको नाडा अटो–शो आजबाट सुरु भएको छ । सवारीसाधन र यसका डिलर्सहरुको महाकूम्भ मेलाका रुपमा हेरिने मेलामा यस वर्ष बैंक तथा बीमा कम्पनीहरुको स्टलहरु भने छैनन् । हरेक वर्ष आयोजना हुने नाडा अटो शो मा बैंक तथा बीमा कम्पनीहरुले पनि आफ्ना विभिन्न स्किमसहित स्टल राख्ने गरेका थिए । तर, ठाउँ अभावका कारण नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालले यस वर्ष बैंक र बीमा कम्पनीलाई स्टल राख्न नदिने जनाएको हो ।

मेलाका संयोजक निराकर श्रेष्ठले विगत झै यस वर्ष पनि बैंक र बीमा कम्पनीहरुलाई स्टल दिने योजना बनाएको भए पनि ठाउँ अभाव भएकाले दिन नसकिएको बताए ।

नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपाल र ग्लोबल एक्पोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजको आयोजनामा मंगलबारदेखि काठमाडौंमा नाडा अटो–शो सुरू भएको छ ।

६ दिनसम्म चल्ने १३औं नाडा अटो–शो मा विभिन्न ३९ वटा ब्राण्डका सवारी साधन राखिने नाडाले जानकारी दिएको छ । मेलामा १९ वटा चार पांग्रे र २० वटा दुई पांग्रे ब्राण्डले सहभागिता जनाउने बताइएको छ ।

७१ वटा कम्पनीका १३४ स्टल रहने प्रदर्शनीलाई ६० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । प्रदर्शनीमा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिज बिक्रेताको सहभागिता रहने छ । जसमा नेपालमै उत्पादित सामाग्रीहरू समेत रहने छन् ।

अर्थमन्त्री डा युवराज खतिवडा काठमाडौँको भृकुटीमण्डपमा आजबाट सञ्चालित छ दिने ‘नाडा अटो–शो’ को उद्घाटन गरेका छन् ।

नेपाली बजारमा नयाँ–नयाँ सवारी ब्रान्ड भित्रने क्रम बढ्दै गएको छ । बजारमा सवारी माग बढ्दै भएकाले नयाँ ब्रान्ड भित्रिनु स्वभाविक नै हो । यो वर्षको अटो शोमा ४ वटा दुईपांग्रे नयाँ ब्रान्डले सहभागिता जनाउँदै छन् भने एउटा चारपांग्रे नयाँ ब्रान्ड आउँदैछ ।

एमएडब्लू फाइफले जिपका सवारी नेपाली बजारमा भित्र्याएको हो । नाडा अटो शो २०१८ मा जिपका कम्पास र ¥याङ्लर मोडल प्रदर्शनीमा राखिएको छ । त्यस्तै दुई पांग्रेमा एफटेक ब्रान्डको मोटरसाइकल म्याक्स भिजनले भित्र्याएको छ । चिनियाँ उत्पादन एनआइयु विद्युतीय सवारी समेत अटो शोमा रहेका छन् । यो विद्युतीय स्कुटर नेपालमा इको इन्फिनिटीले ल्याएको हो ।

आइएमई अटोमोटिभ्सले अमेरिकी ब्रान्डको मोटरसाइकल हार्ले डेभिडसन नेपालमा भित्र्याएको छ । यो मोटरसाइकल पनि अटो एक्सपोमा सहभागि हुनेछ । त्यस्तै एसडब्लूएम नामक दुईपांग्रे सवारीले पनि अटो शोमा सहभागिता जनाएको नाडाले जनाएको छ । यो मोटरसाइकल ग्यान अर्थमुभर्सले बजारमा ल्याएको हो ।

अटो शो भन्नेबित्तिकै विशेषतः सवारी प्रयोगकर्ताको ध्यान तानेकै हुन्छ । मध्यम र उच्च परिवारको लागि विशेषगरी अटो शोमा आकर्षण गर्न छुट तथा नयाँ–नयाँ सवारीको लन्च समेत गरिन्छ । दुईपांग्रे देखि चारपांग्रे सवारीका उपभोक्ताहरु अटो शोमा गाडी खरिदको लागि विभिन्न योजना बनाइरहेका छन् ।

कस्तो सवारी खरिद गर्ने भन्ने योजना बनाउँदै उपभोक्त
सबैभन्दा पहिले उपभोक्त गाडी खरिद गर्ने योजना बनाएर अटो शोमा पुग्ने गरेका छन् । आफूले खरिद गर्ने सेगमेन्टका गाडी र त्यसमा पनि ब्रान्डसमेत पहिले नै उपभोक्तले छान्ने गरेका छन् । यदि पहिले छान्न सकेका छैनन् भने अटो शोमा कुन मोडलका कस्ता कस्ता गाडीहरु राख्दैछन् जानकारी लिनका लागि भए पनि उपभोक्ताको भिड शोमा लागेको छ । अटो शोमा पुगेरै छान्न खोज्दा धेरै मोडल र ब्रान्ड हुने भएकोले उपभोक्ता अलमलिन सामान्य कुरा हो ।

अटो शोमा हेरेर फर्कनेगरी भन्दा पनि आफूले खरिद गर्ने गाडीको टेष्ट ड्राइभ समेत गर्नेगरी समय निकालेर जाँदा उपभोक्तालाई सहज हुने छ । सकेसम्म सबै स्टलहरु घुम्दा राम्रो हुन्छ । समयले साथ नदिएमा आफूले खरिद गर्ने ब्रान्डको स्टलमा गएर चाहेको गाडिका बारेमा जानकारी लिन र हेर्न सक्छन् ।

 

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार