काठमाडौंमा बन्ने भयो डिजिटल स्मार्ट पार्किङ


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्मार्ट पर्किङका लागि दरबारमार्ग र डिजिटल पार्किङका लागि नमुना परियोजनास्वरूप धर्मपथमा काम गर्न प्रक्रिया अघि बढाएको छ । नेपालमा पहिलोपटक स्मार्ट र डिजिटल पार्किङको अवधारणा अघि बढाइएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए । ‘स्मार्ट पार्किङका लागि दरबारमार्ग र डिजिटल पार्किङका लागि न्युरोडको धर्मपथलाई छनोट गरी काम अघि बढाइसकेका छौं’, उनले भने। स्मार्ट पर्किङ बढीमा तीन महिनाभित्र प्रयोगमा आउने गरी काम सुरु भएको छ। डिजिटल पार्किङका लागि भने दुई साताभित्र टेन्डर आह्वान हुनेछ।

स्मार्ट पार्किङका लागि खासगरी कार चालक सूचना तथा प्रविधिमैत्री हुनुपर्नेछ। जेडटीई एप्सबाट दरबारमार्ग क्षेत्रमा कतिवटा कारका लागि ठाउँ छ वा भरिएको छ जानकारी पाइन्छ। सोही एप्समार्फत दरबारमार्ग जानेले बुकिङ गर्ने र त्यसका लागि अनलाइन भुक्तानी गर्न सक्ने महानगरपालिकाको सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख महेश काफ्लेले जानकारी दिए। दरबारमार्गमा पार्किङ गरिने कार बढीमा तीन घण्टाका लागि मात्र हुनेछ। बढी समय राखेमा जरिवाना लाग्नेछ। ‘डिजिटल पार्किङका लागि धर्मपथमा बनाइने पाँचतले भवनमा सात सय कार र एक हजारजति मोटरसाइकल र दरबारमार्गमा चार सय कार पार्किङ गर्न सकिनेछ’, उनले भने। दरबारमार्गमा ट्विन (एकै ठाउँमा तलमाथि गरेर दुईवटा कार) पार्किङ सिस्टम हुनेछ।

डिजिटल पार्किङमा विद्युत्को प्रयोगले स्विच अन गरेको भरमा खाली हुने तलामा भुइँ तलाको कार पुग्ने काफ्लेले बताए। नम्बरका आधारमा पुनः उक्त कार विद्युतीय प्रणालीबाटै भुइँतलामा ल्याउन सकिनेछ। महानगरपालिकामा स्मार्ट पार्किङ सिस्टम र डिजिटल पार्किङ सिस्टमबारे प्रस्तुति भइसकेको छ। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव कोइरालाले सडक सुशासनका लागि डिजिटल र स्मार्ट पार्किङले महŒवपूर्ण भूमिका निर्वाह गर्ने र यो अन्य नगरपालिकाका लागि नमुना एवम् उदाहरणीय हुने उनले बताए।

डिजिटलमा विद्युत् खपत बढी हुने देखिएकाले सक्दो कम गरी काम गर्न सकिने उपाय खोज्न पनि उनले सरोकारवाला कम्पनीलाई निर्देशन दिएका छन्। डिजिटल पार्किङमा नौवटा मोडल प्रस्तुत गरिएकोमा नेपालको हकमा ट्विन, पजल, मिनी रोटरी र टावर पार्किङ सिस्टम उचित हुने देखिएको महानगरपालिकाको निष्कर्ष छ। डिजिटल पार्किङका लागि पनि अनलाइन वा कार्डबाट भुक्तानी गर्न सकिनेछ। महानगरपालिकाले बनाउन लागेको कार्यालय भवनमा पनि दुईतले यस्तै डिजिटल पार्किङ बनाउनेतर्फ सोच अघि बढेको कोइरालाको भनाइ छ । #अन्नपूर्ण

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार