fbpx

दशैंको आगमनसँगै दुई विमानस्थलमा उडान सुरु, सेनाको रात्रिकालीन हेलिप्याड रसुवामा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । तीन महीनासम्म सञ्चालन भएर रोकिएको बागलुङको बलेवा विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । कच्ची विमानस्थलमा वर्षाका बेला ट्वीनअटर विमानलाई समस्या भएकाले हवाई सेवा रोकिएको थियो । वर्षा रोकिएको र बिग्रिएका धावनमार्ग मर्मत गरिएकाले यही असोज २५ गतेदेखि पुनः हवाई सेवा सञ्चालन हुन लागेको बागलुङ नगरपालिकाले जनाएको छ ।

नेपाल एयरसँग रहेका दुई ट्वीनअटर विमानमा समस्या आएकाले मर्मतमा समय लागेको र तारा एयरका विमान दुर्घटनामा परेका कारण नियमित उडान रोकिएकोमा अब पुनः उडान सञ्चालन हुने बलेवा विमानस्थलका स्टेशन म्यानेजर कमलप्रकाश पौडेलले जानकारी दिनुभयो ।उहाँका अनुसार असोज २५ गते बिहीबारका दिन नेपाल एयरको विमान काठमाडौँबाट यात्रु बोकेर बलेवामा अवतरण गर्नेछ । विमानस्थल पुनः सञ्चालनमा आउने भएपछि यात्रुको चापसमेत बढेको छ । तारा एयरको उडान तत्काल नहुने भए पनि नेपाल एयरले हरेक बिहीबार नियमित उडान भर्नेछ । असोज २५ गते बिहीबार काठमाडौँबाट आउने नेपाल एयरको विमानका सबै सिट बुकिङ भइसकेको बताइएको छ ।

“अहिले बागलुङदेखि काठमाडौँसम्म पुग्नका लागि ठाउँ–ठाउँको जाम र सडक निर्माण तथा मर्मतले धेरै यात्रु हैरानीमा परेका छन्, अबदेखि त्यस्तो हैरानी भोग्नु नपरोस् भनेर विमानस्थल नियमित सञ्चालनका लागि प्रयास गरिरहेका छौँ”, पौडेलले भने ।दुई दशकभन्दा लामो समयदेखि प्राय बन्द अवस्थामा रहेको विमानस्थल सञ्चालनका लागि विमान कम्पनीहरू तयार नभएपछि उक्त नगरपालिकाले यात्रुको सङ्ख्याका आधारमा कम्पनीलाई वित्तीय सुरक्षाको प्रत्याभूति दिलाएकाले उडान भर्न तयार नेपाल एयर र तारा एयर पुनः तयार भएका हुन् । नगर प्रमुख जनक पौडेलले जानकारी दिए ।

नेबानिको ताप्लेजुङ–काठमाडौं उडान शुरु गर्ने
लामो समयदेखि उडान गर्न नसकेको नेपाल बायु सेवा निगमले काठमाडौँ ताप्लेजुङ उडानका लागि टिकट बिक्री शुरु गरेको छ । असार दोस्रो सातायता नियमित उडान गर्न नसकेको निगमले भाडादर घटाएर आगामी बुधबारदेखि उडान गर्ने तयारी गरेको हो ।

यसअघि रु सात हजार ४६० मा टिकट बिक्री गरेको निगमले अहिले रु एक हजार ६० छुटसहित टिकट बिक्री गरिरहेको र यही असोज २४ देखि सातामा दुई दिन (बुधबार र शुक्रबार) उडान गर्ने तालिका सार्वजानिक गरेको छ ।

यता समिट एयरले समेत सातामा एउटा उडान गर्ने तालिका सार्वजानिक गरिसकेको छ । गत सोमबारदेखि उडान गर्ने बताएको समिटले उक्त दिन मौसम खराबीका कारण उडान गर्न नसके पनि आगामी साताका लागि भने टिकट बिक्री गरिरहेको छ । मौसम खराबीलगायतका कारण उडान नियमित नहुँदा जिल्लावासीलाई समस्या हुँदै आएको छ ।

रात्रिकालीन हेलिप्याड सञ्चालनमा
नेपाली सेना कालीजङ्ग गणले धुञ्चेमा निर्माण गरेको रात्रिकालीन हेलिप्याडको आज यहाँ उद्घाटन गरिएको छ ।

पचपन्न फिट लम्बाइ तथा चौडाइ भएको रात्रिकालीन हेलिप्याडको नेपाली सेना छ नम्बर बाहिनीका बाहिनीपति निर्मलकुमार थापाले उद्घाटन गरेका थिए । हेलिप्याड बनाउन त्यहाँका पाँच वटा गाउँपालिका, स्याफ्रु–मैलुङ सडक निर्माण कार्यदल, अपर त्रिशूली एक जलविद्युत् आयोजना, नुवाकोटको विदुर नगरपालिका १ नम्बर वडा कार्यालय र सुन्दरादेवी साप्ताहिक पत्रिकाले सहयोग गरेको गणले जनाएको छ । दुई लाखभन्दा बढी नगद तथा श्रमदानमा उक्त हेलिप्याड निर्माण भएको हो ।

हेलिप्याडको चारैतिर २४ वटा बत्ती र तीन वटा ‘होरिजेन्टल’ बत्तीसमेत जडान गरिएकाले रात्रिकालीन अवरतण गर्न कुनै समस्या नआउने जनाइएको छ । अनुमति लिएर बिरामी उद्धारका लागि निजी हेलिकप्टरसमेत अवतरण गर्न सकिने गणले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार