उद्योग स्थापना गर्न तीन सय बढीको आवेदन


Share This

नेपालबहस संवाददाता    

भीमदत्तनगर । सरकारले स्थापना गर्न लागेको सुदूरपश्चिम प्रदेशको एक मात्रै ‘दैजी छेला औद्योगिक क्षेत्र’मा उद्योग स्थापना गर्न ३६२ जना व्यवसायीले आवेदन भरेका छन् ।

कञ्चनपुरको बेदकोट नगरपालिकाको छेलामा स्थापना हुने औद्योगिक क्षेत्रका लागि सुदूरपश्चिमलगायत मुलुकका विभिन्न क्षेत्रका उद्योग व्यवसायीले उद्योग स्थापना गर्न आवेदन दिएको बेदकोट नगरपालिकाले जनाएको छ ।

व्यापारी तथा व्यवसायीले फलाम, सरिया, नमकिन, विभिन्न मिल स्थापना गर्न आवेदन दिएको नगरपालिका कार्यालयले जनाएको छ । साना, ठूला र मझौला उद्योग स्थापना गर्न गत साउनमा आवेदन खोलिएको थियो ।

नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको टोलीले औद्योगिक क्षेत्रमा निमार्ण गर्न विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’ तयार पारिसकेको बताए ।

औद्योगिक क्षेत्र स्थापना गर्ने भनिएको लामो समय बितिसक्दा पनि स्थापनाको काम विभिन्न प्रक्रियाका कारण मन्त्रालयमा रोकिएको थियो ।सरकारले २०५२ सालमा घोषणा गरेको औद्योगिक क्षेत्र स्थापनामा ढिलाइ गर्न नहुने स्थानीयवासीको भनाइ छ ।

छेला औद्योगिक क्षेत्रका स्थानीयवासी रोजगारी पाउने आशामा खुशी छन् । “स्थानीय तहका जनप्रतिनिधि पनि यसका लागि निकै दौडधुपमा छन् ।” चौधरीले भने, “विकास र समृद्धिसित जोडिएका विषय प्रक्रियाका नाममा अल्झाउने काम हुनु हुँदैन ।”“छेला नजिकै रहेको मुक्तकमैया बस्तीका सयौँ युवा अहिले भारतमा मजदूरी गरेर परिवारको खर्च जुटाइरहेका छन् ।” उनले भने, ‘औद्योगिक क्षेत्र बने त घर आँगनमै रोजगारी पाउने छ ।” स्थानीय प्रेम चौधरीले औद्योगिक क्षेत्र स्थापनामा ढिलाइ गर्न नहुने बताए । “लामो समय भइसक्यो यो क्षेत्रमा उद्योग खुल्ने खबर सुन्न थालेको ।” चौधरीले भने, “यो काम भए त हाम्रो गाउँमा पनि खुशियाली छाउथ्यो ।”

चौधरीका अनुसार औद्योगिक क्षेत्र स्थापना हुने भएपछि गाउँमा जग्गाको कारोवार भएको छैन । “पहिलेको भन्दा अहिले जग्गाको मूल्य पनि बढेको छ ।” उनले भने ।सरकारले प्रस्ताव गरेअनुसार पूर्वतर्फ छेला मुक्तकमैया बस्ती तथा धेउडीथुम खोल्सा, पश्चिमतर्फ चुरे वनक्षेत्र, दक्षिणतर्फ चाँदनीफाँट बस्तीको चार किल्लाभित्रको जनचेतना सामुदायिक वन करीब २०० हेक्टर र बेतकोट सामुदायिक वनको करीब ४५० हेक्टरसमेतको ९०० बिगाहा जग्गा औद्योगिक क्षेत्रको लागि कायम गरिएको छ ।

जिल्ला वन समन्वय समितिले २०६६ सालमा आवश्यक जमीन उपलब्ध गराउने सहमति गरेको र जनचेतना सामुदायिक वन, बेदकोट सामुदायिक वनले पनि औद्योगिक क्षेत्र स्थापनाका लागि जमीन दिन सहमत भइसकेका छन् ।“सरकारले पनि दैजी छेलाको चार किल्लाभित्र बनाउने निर्णय गरिसकेको छ ।” नगरप्रमुख चन्दले भने, “अब छिट्टै स्थापनाको काम अगाडि बढ्छ ।” उनले वन कार्यालयको प्रक्रियामा ढिलाइ हुँदा समस्या भइरहेको जानकारी दिए।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार