सर्वोच्चको आदेशबिरुद्ध रित्ता थाल ठटाउँदै प्रदर्शन


Share This


नेपालबहस संवाददाता    57 Views

रामेछाप । बीपी राजमार्गमा ठूला ढुवानीका साधन चलाउन रोक लगाएपछि रामेछापमा खाद्यान्नका गोदाम रित्तिएको भन्दै व्यवसायी र सर्वसाधारणले रित्ता थाल ठटाउँदै आइतबार बिहान मन्थलीमा प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतको अन्तरिम आदेशले खाद्यान्न ओसारपसार गर्ने बीपी राजमार्गमा मालबाहक गाडी संचालन रोकिएपछि १२ दिन देखि रामेछापमा खाद्यान्न लगायतका सामग्री ढुवानी हुन सकेको छैन।

बर्षातका लागि भण्डारण गरेका सामग्री सकिएको व्यवसायीले बताएका छन्। तराईबाट पहाड जोड्ने एकमात्र राजमार्गमा सवारी संचालन रोकेपछि गोदाममा सामान थप्न नपाएको व्यवसायीले बताए।

गोदाममा राखेका सामान सकिएपछि उनीहरुले आइतबार ‘खान पाउने अधिकार सुनिश्चिता’ को माग गर्दै रित्ता थाल ठटाएर प्रदर्शन गरेका हुन्।

बजार बन्द गरी प्रदर्शनमा निस्किएका व्यवसायी र सर्वसाधारणले मन्थली बजार परिक्रमा गरेका थिए । स्थानीय देवकोटाचोकमा भएको कोणसभामा व्यवसायीका अगुवाहरुले सर्वोच्चले आदेश नसच्चिए रामेछापबासी भोकभोकै मर्नुपर्ने बताए।

जिल्लामा आवश्यक पर्ने करिब ७० प्रतिशत खाद्यान्न वीपी राजमार्ग हुँदै भित्रिने गरेकोमा हाल उक्त मार्ग ठप्प हुँदा त्यसको असर जिल्लामा देखापरेको व्यवसायीहरुको दाबी छ। साथै व्यवसायी र सर्वसाधारणले सोमबार प्रर्दशनका क्रममा अर्धनग्न जुलुुस निकाल्ने चेतावनी दिएका छन्।

तपाईको प्रतिक्रिया