fbpx

भेरी बबई आयोजना : १० किलोमिटर सुरुङ खन्ने काम सम्पन्न


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । भेरी बबई डाइभर्सनको बहुउद्देश्यीय आयोजनाको १० किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ ।आयोजनाको भौगोलिक अध्ययनमा निकै जोखिम र चुनौतीपूर्ण देखाएको यो भाग अनुमान गरेभन्दा कम र समयभन्दा अगावै सम्पन्न हुन लागेको दाबी गरिएको छ ।

भेरी नदीको पानी बबईमा ल्याउन १२ किलोमिटर दुई सय मिटर सुरुङ खन्नुपर्ने हुन्छ । अहिलेका गतिमा काम भएमा आगामी चैत, वैशाखभित्र सुरुङको पूरा हुने दावी आयोजनाले गरेको छ ।

आयोजना प्रमुख सञ्जिव बरालका अनुसार आयोजनाको भौगर्भिक अध्ययनमा यो काम गर्न निकै जोखिम र चुनौती हुनसक्ने भनेर अनुमान गरिएको भागमा समेत सुरुङ खनेर पार गरी १० किलोमिटर सुरुङ खनिसकिएको छ ।

हालसम्मको कार्यप्रगति हेर्दा यो आयोजनामा सुरुङतर्फ लागत अनुमानभन्दा कम लागतमा र अनुमानित समय अगावै काम सम्पन्न गर्न सकिने उनको दाबी छ ।

गत वर्षको दशैँको फूलपातीको दिनबाट मगाइएको टनेल बोरिङ मेसिन ‘टीबीएम’ ले काम सुरु गरिएको थियो । काम सुरु भएको एक वर्ष दुई महिनामा १० किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ ।

आयोजना प्रमुख बरालले भने, ‘अहिलेसम्मको काम हेर्दा निकै राम्रो उपलब्धि हासिल भएको छ । अनुमानभन्दा कम रकमसँगै कम समयमा काम सम्पन्न हुनसक्ने देखिएको छ ।’

सुरुङको पाँच किलोमिटरदेखि सात किलोमिटरसम्मको क्षेत्रलाई धेरै चुनौती र जोखिम देखिएको क्षेत्र भनेर आयोजनाको विस्तृत अध्ययन प्रतिवेदनमा देखाइएको थियो ।

भौगर्भिक अध्ययनले देखाएको चुनौतीका क्षेत्र पार भएपछि अब खासै समस्या नआउँला भन्ने विश्वास छ । समस्या नदेखिएमा निर्धारित समयभित्रै सुरुङ पूरा हुने आयोजनाले जनाएको छ । राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये यसमा सबैभन्दा राम्रो र उत्कृष्ट काम भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सञ्जय शर्माको दाबी छ ।

पराम्परागत प्रविधि र ब्लास्टिङ गरेर सुरुङ खनेको भए एक किलोमिटर सुरुङका लागि एक वर्ष भन्दा बढी समय लाग्ने थियो तर टनेल बोरिङ मेसिन ‘टीबीएम’ ले काममा प्रगति भएको प्राविधिकहरूको अनुभव छ ।

नयाँ प्रविधिले औसतमा दैनिक २८ मिटरदेखि ४२ मिटर सम्म सुरुङ खनिएको आयोजना प्रमुख बरालको भनाइ छ । चिनिया निर्माण ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड सुरुङ खन्न काम गरिरहेको छ ।

त्यस वापत ठेकेदार कम्पनीले प्रतिदिन एकदेखि दुई करोड रुपियाँसम्मको भुक्तानी लिने गरी काम गरिरहेको आयोजनाले जनाएको छ ।आयोजनाले सन् २०२० को अप्रिल सम्ममा सुरुङ खनिसक्ने कार्ययोजना बनाएको थियो । आयोजनालाई सिँचाइ र जलविद्युत्सहितको बहुउद्देश्यीय बनाइएको छ ।

आयोजना सम्पन्न भएपछि बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ हुनेछ भने ४८ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । सुरुङ निर्माण गर्नका लागि मात्र १० अर्ब ५६ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार