fbpx

ऊर्जा क्षेत्रमा लगानी गर्न मन्त्री पुनको आग्रह


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न अमेरिकालाई आग्रह गरेका छन् । नेपालका लागि अमेरिकी राजदूत रेण्डी डब्लु बेरीसँग आज सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटमा उनले सो आग्रह गरेको हुन् । ऊर्जामन्त्री पुनले नेपालमा संविधान निर्माण र शान्ति प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको भन्दै हाल देशमा स्थिर सरकार भएकाले लगानीका लागि उपयुक्त वातावरण भएको बताए ।

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का परियोजना निर्धारित समयभित्रै पूरा गर्ने गरी सरकारले तयारी गरिरहेको उल्लेख गर्दै उनले कानूनी जटिलताका कारण एमसिसी परियोजना रोकिने अवस्था आउन नदिने गरी काम भइरहेको बताए । मन्त्री पुनले आर्थिक विकासको गतिका आधारमा ऊर्जा मन्त्रालयले ऊर्जा क्षेत्रको श्वेतपत्र जारी गरेको बताउँदै नेपाललाई १० वर्षमा १५ हजार मेगावाट बिजुली आवश्यक हुने जानकारी दिए । आफू ऊर्जामन्त्रीका रुपमा कार्यभार सम्हालेसँगै प्रसारण लाइनको गुरुयोजना सार्वजनिक गरेको समेत उनले बताए ।

मन्त्री पुनले वर्तमान सरकारको प्राथमिकता लगानी र आर्थिक विकास रहेको भन्दै त्यसका लागि नेपाललाई लगानी आवश्यक हुने भएकाले अमेरिकन लगानीकर्तालाई नेपालमा लगानीको लागि वातावरण बनाइदिन आग्रह गरेको छन् । भेटमा अमेरिकी राजदूत बेरीले नेपाल र अमेरिकाबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको बताउँदै नेपालको विकासमा सक्दो सहयोग उपलब्ध गराउने धारणा व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार