प्रधानमन्त्रीको उपस्थितिमा भेरी-बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रू’ हुने



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण तोकिएको समय अगावै हुुने भएको छ । आगामी २०७६ साल चैत १५ सम्म सक्नुपर्ने सुरुङ निर्माण एक वर्ष अगाडि नै पूरा भएपछि बैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सुरुङ ‘ब्रेक थ्रू’ गर्ने तयारी भएको हो ।

१२ दशमलव २१० किलोमिटरमध्ये अब जम्मा दुई मिटर मात्र सुरुङ खन्न बाँकी रहेको आयोजनाका निर्देशक सञ्जीव बरालले जानकारी दिए । बबई किनारबाट सुरुङभित्र पसेको टीबीएम मेसिन सोही दिन भेरी किनारमा निकालिनेछ ।

आयोजना अन्तर्गत हात्तीखालदेखि ६ किलोमिटर दूरीमा पर्ने तोलीखोलाको ‘फल्टजोन’ मा पनि टीबीएमले सफलतापूर्वक काम गरेको बरालले बताए ।

४६ मेगावाट विद्युत, ५१ हजार हेक्टरमा सिञ्चाई

मुलुकमै पहिलोपटक बहुउद्देश्यीय, एउटा बेसिनबाट अर्को बेसिनमा स्थानान्तरण, मेसिनले सुरुङ खन्नेजस्ता विशेषताका कारण यसलाई नमूना आयोजना समेत भन्ने गरिएको छ ।

सिञ्चाइ अभावमा बाँझो हुने बाँके र बर्दियाका खेतियोग्य जमिन आयोजना बनेपछि सिञ्चाई हुनेछ । आयोजनाबाट दुई जिल्लाका ५१ हजार हेक्टर जमिनमा सिँचाई सुविधा पुग्नेछ । बाह्रै महिना सिञ्चाइ उपलब्ध भएपछि कृषि उत्पादन बढ्न अपेक्षा छ । पहिलो चरणमा सुरुङ निर्माण, दोस्रो चरणमा विद्युत् उत्पादन र तेस्रो चरणमा बाँके–बर्दियामा सिञ्चाइ योजना विस्तार गर्ने योजना छ ।

चिप्लेबाट १५ मिटर अग्लो बाँध बनाई प्रतिसेकेण्ड ४० घनमिटर भेरीको पानी बबईमा खसालिनेछ । त्यही पानीबाट बबई किनारमा ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।

जमिनमा सिञ्चाई सुविधा उपलब्ध भएपछि आयोजनाबाट सरकारलाई वार्षिक तीन अर्ब र उत्पादित विद्युतबाट ४ अर्ब आम्दानी हुने प्रक्षेपण रहेको आयोजना प्रमुख बरालले बताए । साढे १० अर्बमा सम्झौता भएको सुरुङका लागि फागुन मसान्तसम्म झण्डै ८ अर्ब खर्च भएको छ ।

सिञ्चाइ विभागद्वारा संशोधित गुरुयोजनाअनुसार टनेल निर्माण, बाँध, विद्युतगृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड खर्च हुनेछ । आयोजनाको सम्पूर्ण काम आर्थिक वर्ष ७९÷८० सम्म सक्ने लक्ष्य छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •